फिचर

शल्यक्रियापछि लालबहादुरले भने ‘पहिले त चन्द्रमा नै ३–४ वटा देख्थेँ’

बुनु थारु

सिन्धुली– फिक्कल गाउँपालिका वडा नं ४, खाङसाङवेशी सिन्धुलीको श्री सुनकोसी उच्च माध्यमिक विद्यालयमा मोतियाविन्दुको निःशुल्क आँखाको शल्यक्रिया चलिरहेको छ। आँखाको शल्यक्रिया गरिएका त्यहाँ करिब ६५ जना हाराहारीका बा-आमा बेञ्चमा लहरै बसेका छन्।

सबैको आँखाको शल्यक्रिया गरिएको  छ। आँखामा सेतोपट्टी बाँधिएका छन्।। सबै जना पट्टी खोल्न उत्सुक र आतुर छन्। कसैको एउटा आँखाको शल्यक्रिया गरिएको छ भने कसैको दुईटा। कतिबेला आँखाको पट्टी  खुल्ला र संसार चिहाउन पाउँला भन्नेमा व्यग्र प्रतिक्षामा देखिन्छन् उनीहरु।

सबैको पट्टी खोल्न सुरु गरिन्छ। डाक्टरले जब ओखलढुंगा सिस्नेरीकी ७० वर्षीया कमाशरी राईको आँखाको पट्टी खोले,  उनले बिस्तारै आँखा खोलिन्। 

शल्यक्रिया संलग्न डा. रचना सिंह राणाले कमाशरीलाई आफ्नो एउटा औँलाले संकेत गर्दै भनिन्, ‘यो कति हो आमा?’ उनले ‘एक’ भनेर जवाफ दिइन्। त्यसपछि उनले ५ वटा औँला देखाइन् उनले ‘पाँच’ भनेर जवाफ दिइन्। ‘आमा देख्न सक्ने हुनुभएछ’ भन्दा उनको मुहार उज्यालियो। मुसुक्क हाँसिन्। नजिकै रहेका आफन्तलाई हेरिन्। आँखामा दृष्टि फर्किएपछि उनमा देखिएको खुशी अनुहारमा छचल्किरह्यो।

आफ्ना छोरी–ज्वाइँसँग आएकी उनी दुवै आँखा देख्न नसक्ने थिइन्। तीनवर्षदेखि आँखाको समस्या भोगेकी उनी अहिलेसम्म अस्पताल गएकी रहिनछन्।

‘घरमा छोरीहरु मात्रै, जँचाउन लग्दिने कोही नभएर यत्तिका वर्ष दुःख पाएँ,’ उनले भनिन्।

आँखा कमजोर भएपछि उनी लठ्ठीको सहाराले हिँडडुल गर्थिन्। सुरुमा दायाँ आँखा कमजोर भएपछि उनको अर्को आँखा पनि कमजोर बन्न पुग्यो। मान्छे पनि राम्ररी देख्न नसक्ने भइसकेकी उनलाई विदेशबाट जवाइँ आएपछि मात्र यहाँ उपचार सम्भव भएको बताइन्। 

उनी भन्छिन् ‘अब छर्लंग आँखा देख्न सक्ने भएपछि पहिलाको जस्तै सबै काम गर्छु। घाँस दाउरा, कुटानी पिसानी गर्छु।’

सोखुकी ४१ वर्षीया जानुका खत्रीले सानोमा आँखाको समस्या भोग्नु परेन। १४ वर्षको उमेरमा प्रौढ शिक्षा पढेको बताउने उनले १५ वर्षको उमेरमा बाल शिक्षा पढाउन थालिन्।

१९ वर्षको उमेरमा आँखामा बादल लागे जस्तो, आँसु आउने, सियो छिराउन नसक्ने आदि समस्या देखिन थाल्यो। उनको दुवै आँखामा समस्या देखिएको थियो। त्यस्तैमा उनको बिहे पनि भयो। 

ओखलढुंगामा आएको शिविरमा उनले देब्रे आँखाको  शल्यक्रिया गराएकी थिइन्। उनी आफ्नो श्रीमान्सँग भारतमा रोजगारी गर्न पुगेकी थिइन्। त्यहाँ उनीहरु दुवै जना कोइलाखानीमा काम गर्थे। एकदिन काम गर्दा गर्दै खानीमा उनको श्रीमान्को मृत्यु भयो। 

‘भारतमा पनि चेक गराएकी थिएँ। औषधीहरु दिएको थियो तर केही विसेक भएन,’ उनी भन्छिन्।

अहिले उनी किराना पसल चलाएर बसिरहेकी छिन्। आँखा कमजोर नै भएको १८ वर्ष भइसकेछ।

‘मैले त पोहोर साल यस्तै शिविरमा आँखाको चेकजाँच गराएकी थिएँ डाक्टरले शल्यक्रिया गर्न भनेका थिए,’ यसरी आफ्नो कथाको बेलीविस्तार लगाउँदै गरेको भेटिइन् ५० वर्षीया तुलसा खत्री। उनलाई ३ वर्षदेखि आँखामा समस्या आएको रहेछ। 

‘मेरोे आँखा ख्वाप्प निकालिदिन्छ कि भन्ने डरले पोहोर अपरेशन गराइनँ, दशैँ आउँदै थियो नि त,’ उनले डर जताइन्।

पोहोर गराएका मान्छेहरु अहिले राम्ररी देख्न सक्ने भएका छन्। त्यसैले यो पालि आएको उनले बताइन्।

शल्यक्रिया गराउन एक्लै आएका ६६ वर्षीय लालबहादुर तामाङको श्रीमतीको दुवै आँखामा पनि मोतियाविन्दु छ तर श्रीमती साथमा ल्याएका थिएनन्। उनका छोराछोरी नभएका होइनन् तर सबै काठमाडौं छन्। खेतीपाती गरेर गुजारा चलाउँदै आएका लालबहादुुरले शल्यक्रिया पछि अब राम्रो देखिन्छ होला भनेर खुसी व्यक्त गर्दै थिए।

‘पहिला त चन्द्रमा नै ३–४ वटा देख्थेँ, अब शल्यक्रिया भएको छ सञ्चो हुन्छ कि?’ उनले भने।

श्रीमतीलाई पनि ल्याउने इच्छा हुँदाहुँदै घर हेर्ने मान्छे कोही नभएकाले सँगै नल्याएको उनले बताए।

फिक्कल वार्ड नं ६ तिनखण्डेबाट ७६ वर्षीय उन्नासरी राईले पनि शल्यक्रिया गराएकी छिन्। उनी शिविरसम्म आउन ३ घण्टा लागेको बताइन्। 

धनुषाका ६५ वर्षीय मनोजकुमार यादव विगत  ६ वर्षदेखि यस समस्याबाट पिडित थिए। आँखामा मासु पलाउनुका साथै मधुरो देखिने, धुवाँ जस्तो देखिने ,मान्छे नचिनिने लक्षण उनमा देखिएको थियो।

‘के गर्नु हजुर छोराहरुले छोडेर गए, घरा बुढी मात्रै छ। गरिब भएकाले समयमा जचाउँन सकिएन,’ उनले आफ्नो दुःखेसो यसरी पोखे। 

तिलगंगा आँखा प्रतिष्ठान, फिक्कल गाउँपालिका– स्वास्थ्य शाखा, सिन्धुली तथा नेपाल रेडक्रसको समन्वयमा  १८ र १९ गते फिक्कल गाउँपालिका वार्ड नं ४ खाङसाङवेसीमा २ दिने मोतियाविन्दुको निःशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो।

धेरै बिरामीहरु पहिलादेखि नै आँखामा समस्या रहेका तर उपचार गराउन ढिलो पुग्नेहरु थिए। उपचारमा संलग्न डा.रचना सिंह राणा भन्छिन् धेरैजनामा हामीले छिप्पिएको मोतियाविन्दु पायौँ।

उनका अनुसार मोतियाविन्दु समयमा उपचार नगरे जलविन्दु हुनसक्ने खतरा हुन्छ। धेरै बाहिर काम गर्ने जस्तै घाममा काम गर्नेलाई यो समस्या रहेको पाइएको छ। उनी भन्छिन्, ‘हरेक मानिसले ४० वर्षपछि वर्षको एकचोटी आँखा जाँच गराउनुपर्छ। दृष्टि कम हुने, तुँवालो लागेजस्तो हुने आदि लक्षण यसमा हुन्छ। ’

बाटोघाटोको राम्रो सुविधा पुगेपनि अझैसम्म बिजुली पुग्ने सकेको छैन यस ठाउँमा। मानिसहरु टुकीकै भरमा छन् र कोही सोलारबाट बिजुली बाल्छन्। आँखा स्वास्थ्य सम्बन्धी ज्ञान मानिसमा निकै कम छ। अस्पतालका लागि कि त लहान जानुपर्ने बाध्यता छ भने कि त घुर्मी। कोही जानसक्ने काठमाडाँै पनि जाने गरेका छन्। 

धेरैलाई मोतियाविन्दु शल्यक्रिया गराउन डर मान्छन्, आँखा फुटाइदिन्छन् भन्ने भ्रम रहेको छ। उनीहरु घरेलु विधिमै आश्रित छन्। बुढापाकालाई शिविरसम्म ल्याइदिने मानिसको कमी पनि रहेको पाइयो।

 फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार भन्छिन्, ‘धेरैजना सेवा सुविधाबाट बञ्चित छन्, सामान्य उपचार पनि यहाँ नजिकै छैन।’

उनी थप्छिन्, ‘भविष्यमा हामीले यहाँ आँखा उपचारका लागि किल्निक सञ्चालनमा ल्याउने सोचेका छौँ।’ 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live