विचार/ब्लग

'बेड रेस्ट'का २२ दिन : बन्चरोले कम्मर छिनालेझैं त्यो अनुभूति


'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै डा विप्लव सापकोटाले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त?'

हो, उनले भनेझैं मेरो मेरुदण्डको तल्लो भाग (एल ४-५) को नसा वरिपरिको भाग आक्रमणमा परिसकेको रहेछ। 

रिपोर्टबारे उनी थप व्याख्या गरिरहेका थिए। नजिकै सोफामा ढल्किएको मेरो शरीर भने जिरिङजिरिङ भइरहेको थियो। म सोच्न थालेँ— अब नसा पनि बिस्तारै च्यापिनेछ। त्यसपछि अप्रेसन…

–०००–

दोस्रोपल्ट दुखाइ बल्झिएपछि फेरि 'बेड रेस्ट'मै फर्किनुपर्‍यो। 'ब्याक पेन'को सानोतिनो पीडालाई झेल्दै आए पनि यसपालि म नराम्ररी थलिएँ। 

असारको अन्तिम सातादेखि ढाड हल्का दुख्न थालेको महसुस त गरेको थिएँ। वास्ता गरिनँ, किनकि पहिलेझैं केही दिनमा ठिक भइहाल्छ भन्ने लागेको थियो। तर बेवास्तालाई ढाडले चुनौती दियो, दुखाइ क्रमश: बढ्न थाल्यो। त्यसपछिका दुई दिन पीडा सहँदै भए पनि अफिस धाइरहेँ। तेस्रो दिन बिहान भने कम्मर हल्लाउन सकिनँ। ओछ्यानबाटै डेस्कका साथीहरुलाई फोन गरेर अफिस आउन नसक्ने जानकारी गराएँ।

टाढा जान सक्ने अवस्थै थिएन। खुट्टा चलाउनासाथ सोझै त्यो पीडाले कम्मर र ढाडमा चस्का हान्थ्यो। नजिकैको कीर्तिपुर हस्पिटलमै चेकजाँच गराउने निधो गरेपछि साथी प्रवेशले मोटरसाइकलमा राखेर पुर्‍याइदिए। 

अर्थोपेडिक डा रहेछन्, अनुजराज बिजुक्छे। उनलाई भेटेँ।

'कतै ठोक्किएको थियो?' सोधे।

'थिएन।'

'लडेको सड्केको?'

'अहँ, केही छैन।'

बेडमा सुताएर प्रारम्भिक चेकजाँच सुरु गरे र भने, 'पहिले एक्सरे हेरौं है त।'

पछि एक्सरे हेर्दै उनले भने, 'पछाडिको मांशपेसी कडा भएर खुम्चिएको रहेछ। त्यसैले हड्डीलाई प्रेसर गरेकाले दुखेको हो।'

दुखाइ कम गर्ने केही औषधि लेखिदिए। र, कम भएपछि थेरापीका लागि एक हप्तापछि पुन: भेट्न भन्दै बिदा दिए। 

उनकै 'डेडलाइन'मा पुन: अस्पताल पुगेँ। दुखाइ केही कम भए पनि  बायाँपट्टि अलि असहज महसुस भइरहेको थियो। उनले फिजियोथेरापीका लागि रिफर गरे। सोही अस्पतालमा त्यसपछिका तीन दिनसम्म लगातार थेरापी गराएँ। थेरापिस्टले चार आइटममा एक्सरसाइज पनि सिकाएका थिए, जसलाई कोठामा आफैले अभ्यास गर्न थालेँ।

जब तेस्रो दिनको थेरापी सकाएर कोठामा आइपुगेँ। अचानक दुखाइ बढ्न थाल्यो। दुवै खुट्टाको पैतालासम्म झनझनाउन थालेपछि म निकै डराएँ। नसाकै समस्या या हड्डी खिएको त होइन!

भोलिपल्ट उठ्न सकिनँ। थेरापी पनि गइनँ जबकि उठेर ट्वाइलेट जान पनि निकै गाह्रो भएको थियो।
 
सोच्नुस्, तपाईं सुतिरहनुभएको छ र कसैले कम्मरमा बन्चरोले ठ्वाकठ्वाक हानेर छिनाउँदैछ। भाग्न पनि सक्नुहुन्न किनकि शरीर मूढो जस्तो बनेको छ— हल न चल!

यही महसुस गरेँ दिनभर। 

भोलिपल्ट अर्थोपेडिक सर्जन डा विप्लव सापकोटालाई सम्पर्क गरेर अस्पताल पुगेँ। त्यो अवधिसम्म मेरो बायाँ कम्मर बांगो/छड्के भइसकेको थियो। 

हिँड्दा पनि दायाँ खुट्टाको भरमा कि त कसैको सहारा लिनुपर्ने। पछिसम्मै मलाई विदुर दाइले साथ दिइरहे।

ढाड नै बांगो अवस्थामा भइसकेपछि हुन सक्छ उनले एमआरआई गर्न सुझाव दिए। केही औषधि सिफारिस गरेर पठाए। सोही दिन एमआरआई गराएँ। भोलिपल्ट बिदा परेकाले रिपोर्ट दुई दिनपछि मात्र आयो। लाग्यो, बिदा नभएको भए एक दिनपहिले नै म थप उपचार गर्न पाउँथे।

रिपोर्ट बोकेर पुन पुगेँ डा विप्लवकहाँ।

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै उनले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त? भित्र कुरकुरे हड्डी जस्ता केही हाड हुन्छन्, तिनले थिचेको छ।'

'अब के गर्ने? हड्डी खिइएको त हैन?' हडबडीमा सोधिहालेँ।

'हड्डी खिइने उमेर त होइन यो। अब केही दिन नियमित औषधि  खानैपर्छ। दुखाइ कम भएपछि फिजियोथेरापी गर्नुपर्छ।'

उनका अनुसार कतिपय अवस्थामा बसाइको सन्तुलन नमिल्दा मेरुदण्डमा भार पर्छ। जब कोही लगातार निहुरिएर काम गर्छ, उसको मांशपेसीले बढी दबाब खेप्नुपर्छ। बिस्तारै शिथिल बन्दै जाँदा मांशपेसीको भार पनि हड्डीले थेग्नुपर्दा दुखाइ उत्पन्न हुन्छ।

मैले अनुमान गरेँ। लगभग मेरो समस्या यही हुन सक्छ। मेरो नियमित काम डेस्क (कम्प्युटरमा गरिने काम) मा रहेर समाचार सम्पादन गर्नु हो। अझ अनलाइनमा भएपछि यसै पनि समाचारको प्रेसर पर्ने नै भयो। 

'ढाड सिधा पारेर काम गर्ने हो भने भार टाउको हुँदै मेरुदण्डबाट सिधा तल जान्छ,' उनले थप जानकारी दिए, 'तर निहुरिएको अवस्थामा टाउकोको भार मेरुदण्डबाट अगाडि जाने भएकाले मांशपेसीमा दबाब हुन्छ।'

उनको सुझावपछि म फर्किएँ। तर तत्कालै थेरापी गर्न चाहिनँ किनकि दुखाइ कम भएकै थिएन। नियमित औषधि खाने र सुताइलाई सहज बनाइराखेँ। 

अहिले म डा सुनिल पौडेलको परामर्शमा स्पार्क हेल्थ होममा फिजियो थेरापी गराइरहेको छु। उनका अनुसार शारीरिक श्रमको कमी वा ढाडको बढी प्रयोग र गलत आसनका कारण यसखाले समस्या आइलाग्छ।

अहिले त बांगिएको कम्मरमा सुधार आइसकेको छ। दुखाइ निकै कम छ। थेरापिस्टले सिकाए बमोजिम कोठामै ९ आइटमका एक्सरसाइज गरिरहेकै छु। २२ दिनको 'बेड रेस्ट'पछि लगभग म ठिक भइसकेँ। 

तर मैले ध्यान दिनुपर्नेछ— गह्रौं वस्तु उठाउनु हुँदैन। झट्ट निहुरिएर बस्नु हुँदैन। कुर्सीमा बस्दा करिब १५-२० मिनेटपछि उठ्ने एकछिन जिउ तन्काउने गर्नुपर्नेछ…।

–०००–

संसारका लगभग ८५ प्रतिशत मानिसमा ढाडको सानो वा ठूलो समस्या हुँदो रहेछ। पूरा सिधा नभई लगभग 'एस' आकारको ढाडलाई विभिन्न मांशपेसी, जोर्नी र अन्य कनेक्टिभ तन्तुले जोडेको हुन्छ। काम गर्ने क्रममा बढी तिनै मांशपेसी वा जोर्नीमा असर पर्छ र ढाड दुख्ने समस्या आइलाग्ने रहेछ।

मैले परामर्श लिएका र भेटेका चिकित्कसहरुले ढाडको समस्या आउन नदिन केके गर्ने भनेर सुझाव दिएका थिए। यो तपाईंलाई पनि काम लाग्न सक्छ।

—लामो समयसम्म एकै पोजिसनमा कुर्सीमा नबस्ने
—एकछिन भए पनि सामान्य व्यायाम गर्ने/ कडा व्यायाम नगर्ने 
—कार्यालयमा काम गर्दा कम्प्युटर र आँखाको स्तर बराबर राख्ने
—लामो यात्रा गर्दा बसको सिट सहज छ/छैन हेर्ने
—पेटको समस्याले पनि दुख्ने भएकाले खानपानमा ध्यान दिने
—गह्रौं भारी नबोक्ने
—लामो समय उभिएर काम नगर्ने
—कडा सोल वा अग्लो हिल भएको जुत्ता लगाएर लामो समय नउभिने
—सुतेर मोबाइल नचलाउने/नपढ्ने
—सुत्दा अप्ठेरो सिरानी नराख्ने
—धेरै कमलो बिछ्यौनामा नसुत्ने
—पाइन्टको पछाडिको पकेटमा पर्स नबोक्ने
—उठ्दा कोल्टे परेर उठ्ने।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने