फिचर

यसरी जोगाइयो ३ वटा रड शरीरमा छेडिएकी बिरामी

गत आइतबार दाङमा एउटा भयानक घटना भयो। फुटपाथमा हिँडिरहेकी तीला परियारलाई मोटरसाइकलले ठक्कर दिएपछि रड अनलोड गरिरहेको ट्रकमा ठोकिन पुगिन्। उनको शरीरमा ३ वटा रड वारपार छेडिए।

सुरुमा उनलाई दाङमै रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पठाइयो। अवस्था काबुबाहिरको देखिएपछि उनलाई भैरहवा मेडिकल कलेज रिफर गरियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि ट्रमा सेन्टर र त्यसपछि मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइयो।

२४ घन्टामा अन्य ३ अस्पतालको चक्कर काटेर त्यहाँ पुर्‍याइएकी तीलाको अस्पतालका निर्देशक तथा कार्डियोभाष्कुलर सर्जन डा उत्तमकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले शल्यक्रिया गरी रड निकाल्यो। डा श्रेष्ठका अनुसार तीलाको अवस्था जोखिममुक्त छ। ३ रड गढेकी तीलाको ज्यान जोगाउन सफल डा श्रेष्ठको उपचार अनुभूतिः

बिरामी इमर्जेन्सीमा पुर्‍याउँदा म अस्पतालमै थिएँ। ट्रमा सेन्टरबाट रिफर गरिएको दुर्घटनाको बिरामी ल्याइएको सुन्नेबित्तिकै म त्यहाँ पुगेँ। सामान्य दृष्टिबाट हेर्दा अवस्था डरलाग्दो थियो। अस्पतालको टिमलाई परिचालन गरेर तुरुन्तै उपचार प्रक्रिया थाल्यौं। एक घन्टामा बिरामीलाई हामीले अप्रेसन थिएटरभित्र लगिसकेका थियौं।

हामीलाई सबैभन्दा समस्या सिटी स्क्यान गर्न भयो। दुई फिटको रडसहित सिटी स्क्यान मेसिनमा बिरामी छिराउन सकिने अवस्था थिएन। हामीले त्यसलाई होसियारीपूर्वक काटेर सिटी स्क्यान गर्‍यौं। त्यसपछि तुरुन्तै अप्रेसन गरेर बिरामीलाई बचाउने कोसिस थाल्यौं। यस्तो अवस्थाको बिरामी यसअघि हामीले उपचार नगरेकाले नयाँ केस थियो। त्यसैले हरेक कुरामा उत्तिकै होसियारी अपनाउनुका साथै आफूले सिकेका र अनुभव गरेका सबै ज्ञानको प्रयोग गर्न जरुरी थियो। 

यसअघि मुटुमा चक्कु पसेका, काठले घोचेका र फोक्सो र मुटुको धमनी च्यातिएर आएको बिरामीको शल्यक्रिया गरिसकेका थियौं। यी बिरामी जोगाउन हाम्रो सम्पूर्ण टिमले निकै होसियारी र सक्रियताका साथ सहयोग गरेका छन्। उनको अवस्था सुधारोन्मुख छ। हामीले उनको श्रीमान्लाई ‘दसैंमा मासु खानसक्ने बनाएर घर पठाउँछौं’ भनेका छौं। 

हाम्रो प्रयासका साथै यी बिरामी जोगिनुका ३ कारण छन्। पहिलो, जसले ती बिरामीलाई अस्पतालसम्म पुर्‍याए, उनीहरुमा भित्र पसेको रड निकाल्नुहुँदैन भन्ने ज्ञान रहेछ। यति कसैले जबर्जस्ती झिकेको भए उनको ज्यान जोगाउन मुश्किल पर्थ्याे। 

दोस्रो, समयमै सही ठाउँमा ल्याइपुर्‍याइयो। ३ वटा अस्पतालले उपचार गर्नभन्दा पनि सही ठाउँमा रिफर गर्न सके। जसका कारण यो समस्याका लागि दक्ष चिकित्सक र उपकरण भएको ठाउँमा उनलाई ल्याइपुर्‍याइयो।

तेस्रो, घाँटीमा रड वारपार भएको थियो। घाँटीमा ठूल–ठूला नसा हुन्छन् । तर, डन्डीले रगतको नसा च्यातेको रहेनछ। यसले गर्दा पनि उनको ज्यान जोगाउन सकियो।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live