जीवनशैली

३० वर्षमा दुई पटक मात्र दसैं बिदा

सिर्जना खत्री

टिचिङ अस्पतालकी 4 सहनियन्त्रक गंगा हुमागाईं। उनले 4 पेसा अँगालेको ३० वर्ष नाघिसकेको छ। ३ दशक लामो सेवा अवधिमा उनले दसैं बिदा भने जम्मा २ पटक मात्र बसेकी  छिन्, त्यो पनि प्रशासनतिर सरुवा भएपछि।

बिदा बस्न मन नलागेको भने होइन उनलाई। ‘विविध परिस्थितिले बिदा बस्ने अवसर नै मिलेन,’ गंगा भन्छिन्, ‘बिदा बस्न खोज्यो तर केही न केही काम परेर अस्पताल जानु परिहाल्थ्यो।’

२०४३ सालमा टिचिङ अस्पतामा नर्स भएर जाँदा उनी नयाँ थिइन्। नयाँमा धेरै मिहिनेत गर्नुपर्ने हँुदा आफैं बिदा बसिनन्, काममा अनुभवी हुँदै जाँदा बिदा बस्ने अवसर नै मिलेन उनलाई। दसैंको बेला अरु बेलाको जस्तो लामो ड्युटी गर्नु नपरे पनि ४ घण्टा चाहिं सधैैं काम गरेको अनुभव सुनाउँछिन् गंगा।

‘अस्पतालमा ४ घण्टाको ड्युटी गर्दा काभ्रेस्थित घरमा जान भ्याइँदैनथ्यो,’ उनले भनिन्, ‘ड्युटीमा रहँदा घरको त्यति याद आउँदैनथ्यो तर कोठामा आएपछि दसैंजस्तो चाडमा पनि घर जान पाइएन भनेर साह्रै नरमाइलो लाग्थ्यो।’

दसैंको दिन सबै निधारमा रातो टीका लगाएर बाटोमा हिंडेको देख्दा रुन मन लाग्ने गरेको उनले सुनाइन्। ‘घरमा टीकाटालो गरेको सम्झँन्थें, साथीभाइसँग गाउँभरि डुलेको पनि याद आउँथ्यो,’ उनले भनिन्।

'पछि छोरीलाई गाह्रो भयो भनेर आमाबुबासहित सपरिवार काभ्रे छोडेर काठमाडौंमा बस्न थाल्यौं। त्यसपछि पनि नजिक घर भएकाले त्यति बिदा दिइँदैनथ्यो,’ उनले विगत सम्झिइन्, ‘४ घण्टा ड्युटी गरेपछि घर आउन पाइने भएकाले परिवारसँग ढिलै भए पनि टीका लगाउन भने पाउँथें।’

अस्पतालमा काम सकेर घर पुग्दा ढिलो हुने र बुबाको गाली खानुपरेको पनि सम्झिइन् गंगाले। ‘दसैंको टीकाको दिन पनि परिवारलाई सधैं कुराउँथें, घरबाट चाँडै आउँछु भनेर हिंड्यो, फर्कंंदा ढिला भइहाल्ने, अनि गाली खाइने,’ उनले भनिन् ।

बुबाको मृत्युपछि उनलाई दसैंको टीका लगाउन मन लाग्दैनथ्यो। ‘टीका लगाउन नपरे पनि हुथ्यो भनेर बहान बनाउँथें, तर आमाले त्यस्तो गर्नुहुँदैन, वर्ष दिनमा एकपटक लगाउने टीकाको अपमान गर्नु हँुदैन भनेपछि लगाउन बस्थें। यो सबै बुबाको सम्झनाले भएको थियो।’

नर्स–डाक्टरको पेसामा चार्डपर्वमा रमाएर बस्ने पेसा होइन भन्ने लाग्छ उनलाई । ‘कतिबेला के पर्छ थाहा नै हुँदैन,’ उनले भनिन्।

एक वर्ष दसैंमा बिदा मिलेको थियो । खुसी हुँदै सबै सामग्री तयार गरेर, नयाँ लुगा लगाएर टीका लगाउने तयारीमा थिइन् तर त्यति नै बेला अस्पतालबाट फोन आयो। ‘आइसियूमा नयाँ बिरामी भर्ना गरेको छ, औषधि दिने कोही भएनन्, तुरुन्त आउनुपर्‍यो भनेर बोलाउनु भयो,’ उनले भनिन्, ‘आउँदिन भन्न पनि सकिनँ, हतारहतार टीका लगाएर खाना पनि नखाई अस्पताल पुगें।’ त्यो दिनको सम्झना अहिले पनि आउँछ उनलाई । 

आमाले अस्पतालमा खानु भनेर पठाइदिएको टिफिन पनि बिरामी कुर्नेलाई दिएको अनुभव सुनाइन् गंगाले। ‘दसैंको दिन, पसलहरु पनि सबै बन्द। बिरामी कुरुवा दिदीले केही पनि खाएकी रहिनछिन्, उनैलाई दिएँ,’ उनले भनिन्।

दसैंमा समेत बिदा नपाउँदा एक मनले ‘यस्तो पेसा पनि के गर्नु’ जस्तो लाग्छ उनलाई। तर अर्को मनले भन्छ– 4 पेसा भनेको पुण्य कमाउने पेसा हो। ‘मान्छेले धर्म गर्न कति त्याग गर्छन्, मैले त धर्म कमाउन अन्त जानै पर्दैन। बिरामीको सेवा गरेर नै पुण्य कमाउँछु,’ गंगा भन्छिन्, त्यसैले यो पेसाप्रति झन् सम्मान बढेर आउँछ र मैले सही काम गरेजस्तो लाग्छ।' 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live