काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आजबाट वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ।
वीर अस्पतालको विस्तारित सेवाका लागि दुवोकोटमा संरचना बन्ने कार्य सुरु हुँदैगर्दा त्यहाँका जनतालाई लक्षित गर्दै आजबाट बहिरंग सेवा सुरु गरिएको हो।
तत्कालका लागि एकजना मेडिकल अफिसर, नर्स वा अहेव एकजना, कार्यालय सहयोगी, एक सुइपर, एकजना सुरक्षागार्डको स्थायी व्यवस्था गरिएको अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले बताए।
त्यस क्षेत्रमा रहेका बिरामीको थप स्वास्थ्य जाँच, शल्यक्रियालगायत गर्नुपर्ने भएमा त्यहींको टिकटले सोझै वीर अस्पतालमा उपचार गराउन सकिने छ। त्यसरी आएका बिरामीलाई कुनै पनि सेवा लिन लाइनमा पालो कुर्न नपर्ने व्यवस्था गरिएको छ।
६ महिनाभित्र ल्याब र एक्स–रे सेवाका लागि मेसिनको व्यवस्था गरिने र त्यसका लागि चाँगुनारायण नगरपालिकाले जनशक्तिको व्यवस्थापन गर्ने बताइएको छ।
हरेक दिन विशेषज्ञ सेवाका लागि विभिन्न विभागका विशेषज्ञलाई रोटेसनका आधारमा दुवाकोट गई सेवा गर्ने व्यवस्था मिलाइने निर्देशक बस्नेतले जानकारी दिए।
चाँगुनारायण नगरपालिकाकी मेयर बीना बाँस्तोलाले आफ्नो नगरपालिकाभित्र देशको सबैभनदा ठूलो अत्याधुनिक अस्पताल बन्नु गौरवको विषय भएको बताइन्।
उनले भनिन्, ‘हामीले वीर अस्पतालले यहाँ जग्गा किन्ने बेलादेखि साथैमा छौँ, यो अस्पताल गिट्टी कुट्नेदेखि प्रधनमन्त्री, राष्ट्रपतिलाई उपचार गर्नसक्ने खालको हुनेछ।’
स्वास्थ्य जाँचका लागि आएकी स्थानीय ७५ वर्षीया अनन्तकुमारी लामिछानेले घरआँगनमै सरकारी अस्पतालका चिकित्सकले सेवा दिने कुराले खुसी भएको बताइन्। उनले भनिन्, ‘६÷७ महिना भयो, ब्लडप्रेसर बढेको छ, औषधि खाँदैआएकी थिएँ, बेलाबेला जाँच गर्न माथि उल्केर मेडिकलमा जानुपर्छ, अब यहीं सुविधा भयो, आनन्द भयो।’
नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने प्रक्रियाअनुसार दुवाकोटमा काम अगाडि बढाइसकिएको छ।
सरकारले अस्पताल विस्तारका लागि भक्तपुरको दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराइएपछि त्यहाँ काम सुरु गएको हो।
चालु आर्थिक वर्षमा उक्त जग्गामा विस्तारित वीर अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ। भोलिदेखि डिपिआरको काम सुरु हुने निर्देशक बस्नेतले बताए।
निर्देशक बस्नेतका अनुसार विस्तारित वीर अस्पताल निर्माणको गुरुयोजना न्याम्सको सिनेटले पास गरिसकेको र गुरुयोजनामा उक्त क्षेत्रमा एक हजारदेखि १५ सय शय्याको अस्पताल, 4, मार्फेसीलगायतका स्वास्थ्यसँग सम्बन्धित कलेज, आवासगृहलगायतका पूर्वाधारहरु बन्नेछन्। अस्पतालमा हेलिप्याडको सुविधासहितको भवन हुने छ।