चितवन -नेपाल जनस्वास्थ्य प्रतिष्ठान, चितवन शाखा र चितवन जिल्लाका स्थानीय सरकारका प्रतिनिधिबिच विषादी न्यूनीकरण सम्बन्धी योजना तर्जुमा तथा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा विषादी न्यूनीकरणसम्बन्धी विभिन्न योजना बन्नुका साथै चितवन जिल्लामा खाद्यन्नमा विषादी मापन प्रयोगशाला स्थापनाका लागि विशेष पहल गर्ने छलफल भएको छ।
राप्ती नगरपालिकाले तयार पारेको विषादी न्यूनीकरणसम्बन्धीको ऐनलाई अध्ययन गरी अन्य नगरपालिकाहरुमा पनि उक्त नितिगत दस्तावेज तयार गर्ने ,आइ.पि.एम् र प्राङ्गारिक उत्पादनको बिक्रि वितरणलाई सहजीकरण गर्न आइ.पि.एम् स्टल तथा बजारको व्यवस्थापन गर्ने योजना बनेको छ।
त्यसैगरी विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक असरहरु र समग्र उपभोक्ता सचेतनाका लागि विभिन्न सार्वजनिक स्थलहरुमा होर्डिङ्ग वोर्डको व्यवस्था लगायत अन्य जनचेतनामूलक कार्यक्रमहरु गर्ने पनि प्रतिबद्धता जनाइएको छ।
सो कार्यक्रममा भरतपुर महानगरपालिकाका साथै कालिका, राप्ती र खैरहनी नगरपालिका प्रमुखलगायत कृषि, स्वास्थ्य र शिक्षा शाखाका संयोजक, कृषि र वन विज्ञान विश्वविद्यालय, कृषि संकायका डीन, कृषि सहकारी र कृषक प्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको थियो।