काठमाडौं- उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।
लण्डनमा बुधबार सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले निम्न तथा मध्यम आय भएका मुलुकहरूका हरेक पाँच जनामध्ये एक जना मामानसिक रोगको समस्या रहेको बताए उनले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित भएको बताए।
‘नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन’, यादवले भने, ‘अशिक्षा, वेरोजगारी, बसाइसराइ, सामाजिक विखण्डन र प्राकृतिक प्रकोप सहित गरिवीको कारण नेपालमा मानसिक रोगीहरूको संख्या दिनानुदिन बढीरहेको छ।’
नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अंगीकार गरेको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिवद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइनेछ।’
विश्व सम्मेलनको पहिलो दिन उपप्रधाएवम् स्वास्थ्य मन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केण्डालसँग शिष्टाचार भेट गरेका थिए ।
भेटमा मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता भएको थियो।
मन्त्रीयादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा बेलायतकालागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रविन्द्र ठाकुर, स्वकीय सहसचिव अमरेन्द्र यादव र उप सचविभवनाथ खतिवडा सहभागी छन्।