काठमाडौं- नेपालमा नसर्ने रोग (एनसिडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मक भन्दा रोकथाममा बढी जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन्।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसिडी एलायन्सले विहिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले नसर्ने रोगहरुबाट बच्ने तरिकाको व्यापक प्रचारप्रसार अभियान चलाउनु पर्नेमा जोड दिए। कार्यक्रममा नसर्ने रोगहरु मुटु, क्यान्सर, मधुमेह र दमले गरिबी वढाइरहेको बताइएको छ।
सरकारले स्वास्थ्य बजेट विनियोजन गर्दा उपचारका लागि ८५ प्रतिशत र रोकथामका लागि १५ प्रतिशत व्यवस्था गर्दा रोग लागिसकेपछि मात्र जानकारी हुने गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे।
कार्यक्रममा डा.बाबुराम मरासिनीले मोटरसाइकल चढ्ने अनि जंकफुड र मदिरा खाने प्रवृत्तिले गर्दा नेपालीमा नसर्ने रोग बढीरहेको बताए। दीर्घ समस्या निम्त्याउने नसर्ने रोग कहिले पनि निको नहुने भएकाले यसतर्फ चनाखो हुनुपर्ने बताउँदै उनले समयमै होशियारी अपनाइ खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन सुझाब दिए।
सुर्तीसेवन, मदिरापान, अस्वस्थकर खाना, शारीरीक निष्क्रियता र प्रदुषण नसर्ने रोगको कारक तत्व भएको र नेपालका गाउँघरमा बाल्ने परम्परागत धुँवाका कारणले पनि नसर्ने रोग गाउँसम्म फैलिएको डा.मरासिनीको कथन थियो।
सरकारले धुँवामुक्त चुल्होका लागि दिने ४० हजार रुपैयाँ, विपन्न नागरिक उपचार कोषबाट मुटु र क्यान्सर रोगीलाई दिइने १ लाख रुपैयाँ पहुँचवालाको हातमा मात्र पुगेको पनि उनले बताए।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनसीडी तथा मानसिक रोग विभागका प्रमुख फणिन्द्रप्रसाद बरालले नीतिगत रुपमा नेपाल कमजोर नभएको तर कार्यान्वयन पक्ष फितलो भएकाले नसर्ने रोगल सवै वर्गका जनतालाई सताइरहेको बताए। नसर्ने रोगका लागि बनेको सरकारी संयन्त्र निष्क्रिय रहेको बताउँदै उनले मुख्यसचिवको अध्यक्षतमा भएको उच्चस्तरीय समितिले वर्षको १ चोटी पनि वैठक बसाउन नसकेको उनले जानकारी दिए।
जनस्वास्थ्य विज्ञ डा.केदार बरालले नसर्ने रोगसम्वन्धि अहिले नीति जोगीको झोला जस्तै छरपस्ट रुपमा रहेकाले यसलाई एकीकृत रुपमा ल्याउनुपर्ने बताए।
मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोगमा पनि मुटुको रोग सबैभन्दा खतरनाक र प्राणघातक रुपमा आइरहेको जानकारी दिए।
गुल्मीको तम्घासमा विपन्नको सिफारिस माग्दा ५ हजार घुस मागेको घट्ना आफूहरुसँग रहेको र विपन्नको नाममा धनीले फाइदा उठाइरहेको उनले बताए ।
मुटुका अत्यावश्यक औषधी पनि सरकारले उपलव्ध नगराएको र औषधी व्यवस्था विभागले औषधी बजारमा उपलव्ध गराउन अप्ठ्यारो पारिरहेको पनि उनले जानकारी दिए।
मधुमेह रोग विशेषज्ञ डा.प्रदिप कृष्ण श्रेष्ठले नेपालीहरुको पेटमा सेतो बोसोको मात्रा वढेका कारण इन्सुलिनले काम गर्न छाडेको र मधुमेह देख्न थालेको बताए। पेट ठूलो हुँदा इन्सुलिनले काम गर्न नसकेपछि बिटासेल मर्दै जाने र बिटासेल मरेपछि सुगर वढ्न थाल्ने उनले जानकारी दिए।
वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद किशोर प्रधानाङ्गले नेपालमा १ लाखको हाराहारीमा क्यान्सर रोगीले उपचार गरिरहेको र महिलामा वढी क्यान्सर वढी देखिएको बताए।
आयुर्वेद चिकित्सक डा.सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके कुनै पनि प्रकारको नसर्ने रोग नलाग्ने बताए।
जनस्वास्थ्य अभियन्ता प्रा.डा.शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग वढेको नभइ नसर्ने रोगको संख्या वढेको जानकारी दिए।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले मदिरा नीतिमा मदिराको बोतलमा ७५ प्रतिशत भागमा खतराजन्य चित्र राख्नुपर्ने बताए।