डक्टर्स आर्टिकल

शल्यक्रियाअघि बिरामीलाई बेहोस बनाइने एनेस्थेसिया के हो?

विश्व एनेस्थेसिया दिवस

 डा. राजु श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ

–     डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन्। मेरो बिरामीको त ठूलो अप्रेसन गर्नुपर्छ रे। यो अस्पतालमा त हुँदैन रे।


–     मेरो बुहारीको बच्चा निकाल्ने अप्रेसन गनुपर्ने भयो । अप्रेसन अहिले हुँदैन रे। आठ घण्टापछि खाली पेटमा गर्नुपर्छ रे।


–     सुगर, प्रेसर घटबढ भएकाले अप्रेसन क्यान्सिल भयो।


दैनिक जीवनमा हामीेले यस्ता भनाइ सुन्दै आएका छौं। अवश्य पनि सर्जिकल सेवा मेडिकल सेवा अथवा औषधि सेवनबाट गरिने उपचारभन्दा जटिल हुन्छ र हामी अप्रेसन गर्न भनेपछि डराउँछौं, धेरै विचार र सरसल्लाह गर्छौं। डाक्टरले दिएको औषधि खान सुरु गरिहाल्छौ।

कुनै डाक्टरले अप्रेसन गर्नुपर्छ भन्दा हाम्रो  पहिलो जिज्ञासा हुन्छ– औषधि खाएर ठीक हुँदैन र ?

 
दस वर्षयता चिकित्सा विज्ञानको क्षेत्रमा धेरै विकास भइसकेको छ। शल्यचिकित्सा क्षेत्रले अतुलनीय फड्को मार्नुमा एनेस्थेसियाको भूमिका कसैले नकार्न सक्दैन।

शाब्दिक अर्थ केलाउँदा एनेस्थेसियाको अर्थ ‘असंवेदनता,’ ‘चेतना शून्यता,’ ‘अचेतना’ र अझ बुझ्ने भाषामा भन्दा ‘बेहोसी’ भन्ने बुझिन्छ। अप्रेसनको पीडा र प्रसव वेदनालाई एनेस्थेसियाले हटाइदिन्छ।

 
एनेस्थेसिया एक यस्तो अस्थायी अवस्था हो,  जसमा बिरामी अचेत, विस्मरण, पीडारहित र मांसपेशीहरुको गतिहीनता हुन्छ।

यो यस्तो प्रयोग हो, जसका कारण बिरामीलाई  आवश्यक  उपचार विधि  जस्तै : अप्रेसन  र अन्य प्रक्रिया गर्न सकिन्छ। यो बिरामीको उपचारका क्रममा बिरामीको  राम्रोका  लागि  गरिने शरीरको क्रियाविज्ञानविपरीत गरिने प्रयोग भएकाले यसको मुख्य उद्देश्य जतिसक्दो कम खतरा र कम संकट पैदा गर्नु हो।

एनेस्थेसियाको उल्लेखित  चार अवस्थामा बिरामीलाई  राख्न विभिन्न औषधि र विधि  उपयुक्त समयमा सही मात्रा र माध्यमबाट प्रदान गरिन्छ।

बिरामीको अवस्थाको पूर्ण र सचेत निगरानी अप्रेसनको समय र  त्यसपश्चात्  पनि  गरिराख्नुपर्ने हुन्छ।  बिरामीको शरीरमा अक्सिजनको मात्रा, मुटुको गति र प्रवृत्ति (इसिजी), रक्तचाप, तापक्रम, शरीरमा पानीको मात्रा, पिसाब बनेको मात्रा, मांसपेशीको गतिहीनताको मूल्यांकन र केही तलमाथि र विषम परिस्थिति आएमा सोही अनुसारको  औषधि र विधिको प्रयोग हुन्छ।

अप्रेसनको  सुरुवात पूर्व बिरामीलाई एनेस्थेसिया दिइन्छ  र यो प्रक्रिया अप्रेसनभरि चलिरहन्छ। त्यो सकिएपछि बिरामीलाई अप्रेसन पूर्वको  अवस्थामा फिर्ता गर्न औषधि सही मात्रामा दिइन्छ।

बिरामीको शरीरको प्रत्येक अंग–अंग र थाहा  भएको, रोग र समस्याको सही र पूर्ण जानकारीप्राप्त डाक्टरमात्र एनेस्थेसिया दिन सक्षम हुन्छ।

रोगको अग्रीम जानकारीविना  अनुभवविना, शंका  र  देखेका  भरमा, विशेषज्ञको सहयोगीका रुपमा काम गरेको केही अनुभव र ज्ञानको भरमा  एनेस्थेसियाको प्रयोग भएमा भयावह परिस्थिति सिर्जना भई बिरामीको मृत्युसमेत हुन सक्छ र त्यस्तो परिस्थिति हिजोआज विभिन्न अस्पतालमा भइरहेका छन्।

त्यसैले  अप्रेसनपूर्व अप्रेसन गर्ने डाक्टरमात्र हैन, एनेस्थेसिया डाक्टरसँग पनि परीक्षण गराउन र सल्लाह गर्न नभुलौं। मलाई अथवा मेरो बिरामीलाई बेहोस गराउने डाक्टर को हो ? कस्तो छ ? विशेषज्ञता हासिल गरेको छ वा छैन?  नेपाल मेडिकल काउन्सिलमा दर्ता छ वा छैन ? जान्न र सोध्न नबिर्साैं।

अन्य डाक्टर वा मेडिकल स्टाफले विशेषज्ञताविना एनेस्थेसिया दिन खोज्छ भने त्यो एउटा  लाइसेन्स नभएको खलासीले चलाएको गाडीसरह हुन्छ। त्यसैले यस्तो गाडीमा सवार भई आफ्नो र आफ्नो परिवारको ज्यान जोखिममा नपारौं।

एनेस्थेसियाको डाक्टर तपाईं वा तपार्इंको बिरामीको अचेत अवस्थाको सच्चा पहरेदार र साथी हो। त्यसैले आफ्नो साथी डाक्टरलाई आफ्नो सम्पूुर्ण रोग  र स्वास्थ्यको अप्रेसनपूर्व  सही जानकारी दिन  सदैव तत्पर हुनुपर्छ।

एनेस्थेसियाका प्रकार र जोखिम
एनेस्थेसिया मूलतः तीन प्रकारका हुन्छन् ।
१) जनरल एनेस्थेसिया– सम्पूर्ण शरीरलाई अचेत, पीडारहित वा मांसपेशीको गतिहीनताको अवस्थामा राख्ने ।

२) क्षेत्रीय/रिजनल– शरीरको कुनै ठूलो भागमा नशाको प्रवाह रोकिदिने । जस्तै ः हातको अप्रेसन गर्दा हातलाई मात्र लठ्याउने वा बेहोस पार्ने विधि, तल्लो पेटको अप्रेसन, खुट्टाको अप्रेसनमा दिने एनेस्थेसिया ।

३) लोकल एनेस्थेसिया–  जुन भागमा अप्रेसन गर्नु पर्ने हो, सो भाग वरिपरि सुई लगाएर दिने एनेस्थेसिया ।

 
उल्लिखित विधिमध्ये कुनचाहिँ प्रयोग गर्ने भन्ने कुरा एनेस्थेसिया डाक्टरद्वारा बिरामीको रोग र अप्रेसनको प्रकृति र बिरामीसँगको सरसल्लाहबाट अप्रेसनपूर्व नै निर्धारण गरिन्छ ।


एनेस्थेसियाका जोखिम दुई प्रकारका हुन सक्छन् ।


१) अस्वस्थता– एनेस्थेसियाका कारण हुने कुनै  रोग वा समस्या, जस्तै : वाकवाकी लाग्नु, बान्ता हुनु, टाउको दुख्नु, रिङ्टा लाग्नु आदि  ।


२) मरणाधीनता– एनेस्थेसियाले गर्दा हुने मृत्यु ।


यी जोखिमहरु अप्रेसनपूर्वको बिरामीको अवस्था, उमेर, अप्रेसनको प्रकृति, बिरामीका रिपोर्टहरु, अप्रेसनका क्रममा भएका घटना र अप्रेसनपश्चात भएका समस्यामा निर्भर गर्छ । यी समस्याको निश्चित मात्रा र प्रतिशत किटान गरी भन्न असम्भव हुन्छ ।

 
यी समस्या दुई किसिमका हुन्छन्। धेरैजसो   अगाडि नै होस पु¥याई तयारी र सचेत मूल्यांकन गरेमा रोकथाम गर्न सकिने  खालका हुन्छन् र केहीचाहिँ रोकथाम गर्न नसकिने  अप्रत्यासित  र अचानक प्रकृतिका हुन्छन् । जस्तै :औषधिको प्रतिक्रिया, अकस्मात् मृत्यु सिन्ड्रोम आदि। एनेस्थेसियाको कारणले मात्र बिरामीको मृत्यु हुने  दर २० हजारमा १–२ जना मात्र  हुने  विभिन्न अध्ययनहरुले देखाएको छ।

अन्त्यमा, म आफैं यही क्षेत्रमा कार्यरत रहेको र अन्य वरिष्ठ एनेस्थेसियाका  डाक्टरहरुसँग काम गरेको अनुभवका आधारमा भन्नु पर्दा एनेस्थेसिया आजको  दिनसम्म आइपुग्दा धेरै सुरक्षित  भएको छ। तर विशेषज्ञ डाक्टरहरुको कमीले गर्दा हाम्रो जस्तो विकासोन्मुख देशमा धेरै चुनौतीहरु टड्कारो रुपमा देखा परिरहेका छन्।

म व्यक्तिगत रुपमा सम्पूर्ण बिरामी र बिरामीका आफन्तहरुलाई अप्रेसनपूर्व  एनेस्थेसिया दिने डाक्टरका बारेमा सोध्ने बानी बसाल्न र एनेस्थेसियाको डाक्टरलाई भेटी सही सरसल्लाह र निर्णय गर्न अनुरोध गर्न चाहन्छु।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने