काठमाडौ- प्रा डा मणीन्द्ररञ्जन बरालको पुस्तक ‘नियति र अनुभूति’ को आज यहाँ विमोचन गरिएको छ। ८२ वर्षीय वरिष्ठ बालरोग विशेषज्ञ डा बरालको पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आज विमोचन गर्दै पुराना तथा अनुभवी चिकित्सकको आत्मकथा महत्वपूर्ण कृति भएको बताए।
वरिष्ठ चिकित्सक डा हेमाङ्ग दीक्षितले पुस्तकको अर्को संस्करण पनि चाँडै आउनुपर्ने बताए।
पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले डा बराल बहुआयामिक व्यक्तित्वका धनी तथा बालबालिकाका हितको पक्षमा वकालत गर्ने बालरोग विशेषज्ञ भएको बताइन्।
एसओएस चिल्ड्रेन्स भिलेजका अध्यक्ष डा विश्वकेशर मास्केले डा बराल आफ्नो परिवारका पाँचपुस्ते चिकित्सक डा बराल चिकित्सा, राजनीति तथा विभिन्न क्षेत्रका मानिससँग सहकार्य गरेको अनुभवी भएकाले उनको पुस्तक महत्वपूर्ण भएको बताए।
लेखक डा बरालले आफू ब्राह्मण परिवारमा जन्मी संस्कृतसमेत पढे तापनि नियतिले अङ्ग्रेजी पढ्ने अवसर प्राप्त गरी चिकित्सकसम्म भई लामो अनुभव बटुलेको बताए।
डा बरालले पुस्तकमा बस्तीपुर, सिरहा, बेलायतमा उच्च अध्ययन, वीर अस्पतालदेखि कान्ति बाल अस्पतालसम्म काम गर्दाको अनुभव र अनु्भूति आदि विषयमा आफ्ना अनुभव व्यक्त गरेका छन्।
डा बरालले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी तथा अम्बर गुरुङजस्ता व्यक्तित्वसँग पनि सामिप्यतामा रही काम गरेका छन्।
डा बरालले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि सक्रिय रूपमा काम गरेका छन्। ख्यातिप्राप्त उद्योगपति रामलाल गोल्छाका पाँच पुस्ताको तथा त्यसबेलाका सबैजसो मारवाडी परिवारको चिकित्सकका रूपमा काम गरेकाले उनलाई ‘मारवाडी डाक्टर’ पनि भनिन्छ।
डा बराल अहिले पनि काठमाडौँ मेडिकल कलेजमा प्राध्यापनरत रही बालरोग विशेषज्ञका रूपमा कार्यरत छन्।
सुस्मितासँग ५६ वर्ष अगाडि विवाह बन्धनमा बाँधिनुभएका डा बराल दम्पतीको आजै विवाह वार्षिकोत्सवको संयोग परेको उनका छोरा रविले बताए। कुलचन्द्र गौतम स्मृति संस्थाले प्रकाशन गरेको सो पुस्तक कवि विमल भौकाजीले सम्पादन गरेका हुन्।