काठमाडौं- वीर अस्पतालको सिटिस्क्यान खरिद प्रकरणमा सर्वोच्च अदालतले करिब ५ करोड बढी मूल्य प्रस्ताव गर्ने कम्पनीको पक्षमा फैसला सुनाएको छ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले २० करोडको प्रस्ताव हाल्ने बायोमेड इन्टरनेसनल प्रालिको पक्षमा सोमबार फैसला सुनाएको हो।
ट्रमा सेन्सरका लागि खरिद गर्न बोलपत्र आह्वान भएको मेसिन खरिदमा सुरुमा दुई वटा कम्पनीले आवेदन दिएका थिए। सस्तो दरमा हिमालयनले १५ करोडको प्रस्ताव हालेको थियो।
वीर अस्पतालले सस्तोमा प्रस्ताव नहाल्ने कम्पनीले सर्त पूरा गर्न नसकेको भन्दै बायोमेडलाई दिने निर्णय गरेको थियो। सात दिने सूचना दिएर सम्झौता गर्नुपर्नेमा त्यसको पालना नगर्दै दिएपछि अर्को कम्पनीले सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गर्यो।
उक्त समितिले विना जानकारी ३ दिनमा सम्झौता गरेर प्रक्रिया मिचेको भन्दै खारेज गर्न निर्देशन दियो। पुनरावलोकन समितिको निर्णयपछि टेन्डर पाएको बायोमेड २०७४ भदौ १९ गते सर्वोच्च अदालत आयो।
सर्वोच्चका न्यायाधीश गोपाल पराजुलीले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गरिदिए। उक्त अन्तरिम आदेश जारी भए पनि दोस्रो सुनुवाइमा २०७४ कात्तिक ५ गते न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश खारेज गर्यो।
तर उक्त कम्पनीले अन्तिम सुनुवाइमा सुरुको अन्तरिम आदेशले सामान खरिद गरी अस्पताललाई डेलिभरी दिने तयारीमा रहेको तर्क गर्यो। सर्वोच्चले सोही तर्कलाई आधार मानेर ठेक्का रद्द गर्न अस्वीकार गर्दै बढी कवोल गर्नेको पक्षमा फैसला सुनायो।