विचार/ब्लग

भरतपुरमा ट्रमा सेन्टर बनाइनुपर्छ : डा. रुद्र मरासिनी

 

क्यान्सर उपचारको लागि मात्र परिचित रहेको भरतपुर अहिले अरु विधाका विशिष्टकृत उपचारका लागि पनि चिनिन थालेको छ। भरतपुर क्यान्सर अस्पतालले राम्रो सेवा दिइरहेको छ भने यहाँका मेडिकल कलेज तथा सरकारी अस्पतालले विशेषज्ञ सेवाहरु दिइरहेका छन्। त्यसैले पनि उपचारका लागि राम्रो नाम कमाएको छ चितवनले। यसका साथै यहाँ धेरै निजी अस्पताल खुलेका छन्। यद्यपि, नेपाल सरकारको मापदण्डअनुसार स्थापना भएका छैनन्। निजी अस्पताल स्थापनाको समयमा मापदण्डमा कडाई नगर्दा अहिले समस्या आएको हो। तर, यी विषयलाई सम्बोधन गर्न नसकिने भन्ने होइन। यी विषयलाई सम्बोधन गर्न यहाँका निजी अस्पताल पनि तयार छन्। 

चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्नका लागि धेरै सम्भावना छन्। सुरुमा त सरकारी अस्पताल आफैंमा सुविधासम्पन्न हुनुपर्दछ। भरतपुर सरकारी अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने गरी गुरुयोजना बनाइएको छ। यो गुरुयोजनामा १ हजार बेडको अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुरा छ। त्यसलाई टेकेर अगाडि बढ्यो भने भरतपुर अस्पताल शैक्षिक प्रतिष्ठान बन्छ। अनि मात्र यसले यहाँ भएका सम्पूर्ण निजी अस्पताल तथा कलेजलाई अनुगमन गर्नसक्ने क्षमता अभिवृद्धि गर्न सक्छ। 

क्यान्सर अस्पताललाई क्यान्सर रिसर्च सेन्टरको रुपमा समेत विकास गर्नुपर्छ। आममानिसले भरतपुर क्यान्सर अस्पतलाई क्यान्सर उपचारको एउटा हब मानेका छन्। त्यसैले यसलाई क्यान्सर रिसर्च सेन्टर किन नबनाउने ? यसलाई नेसनल क्यान्सर प्रतिष्ठान बनाउन सकिन्छ, किनकि क्यान्सरको उपचारसँगै पढाइ पनि हुने ठाउँ अरु कतै छैन। 

अर्को, पूर्व–पश्चिम राजमार्ग र काठमाडौं छिर्ने प्रमुख केन्द्र भएकाले चितवनमा काठमाडौंमा जस्तै राष्ट्रियस्तरको सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन जरुरी छ। यो कुरा नीतिमा पनि छ। तर, कार्यान्वयन हुन सकेको छैन। विगतमा पनि भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर बनाउने भनेर प्रस्ताव आएको थियो। यसलाई निरन्तरता दिइएन। भरतपुर अस्पतालको मास्टर प्लान बनाउँदा पनि यो कुरा राखेका थियौं, जसमा इमर्जेन्सीको ट्रमा ब्लकमा डेढ सयको बेड हुने उल्लेख छ।

अरु शैक्षिक ब्लक र विशेषज्ञ ब्लकहरु भित्र हुनेछन् र मास्टर प्लानमा ट्रमा ब्लकलाई सबैभन्दा अगाडि राखेका छांै। १५ करोड रुपैयाँ जतिको लागतमा ट्रमा सेन्टर निर्माणको मास्टर प्लान भइसकेको छ। मदन भण्डारी ट्रमा सेन्टर बनाउने विषयमा एक वर्ष बजेट पनि आएको थियो। तर, त्यसपछि बजेट रोकिएकाले काम अगाडि बढ्न सकेन। अब भरतपुर ट्रमा सेन्टर अथवा प्रदेश नं ३ को ट्रमा सेन्टर बनाउन सकिन्छ। यो विषयलाई कार्यान्वयनमा ल्याउन सके ट्रमाका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने थियो।

-डा मरासिनी भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन्


स्थलगत रिपोर्ट :

सम्भव छ भरतपुर मेडिकल सिटी ?

भरतपुरलाई मेडिकल सिटी बनाउन केन्द्रीय सरकारलाई घच्घच्याउँदै छौं

भरतपुर मेडिकल सिटी : संस्थागत विकास गर्न सबै तयार हुनुपर्छ

भरतपुर मेडिकल सिटीका लागि योग्य छ

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने