विचार/ब्लग

मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालका ७ साहित्यिक भावना


वीर अस्पतालमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालसँग साहित्यिक चेत पनि प्रशस्त छ। आफ्ना भावना शब्दमा सुन्दर तरिकाले उतार्ने शिल्प छ। उनी कहिले कविता,  कहिले मुक्तक, कहिले लघुकथाका रुपमा आफ्ना भावना सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका हुन्छन्। स्वास्थ्यखबरको स्वास्थ्य साहित्यमा यसपल्ट डा बरालका ७ साहित्यिक भावना प्रस्तुत गरिएको छ।


एक

दियो जलेको हो कि बलेको हो 
जल्दा पनि उज्यालो बल्दा पनि उज्यालो
मन दु:खी हो कि खुशी हो
दुख्दा पनि आँशु,  हाँस्दा पनि आँशु ...


दुर्इ
खै के खै के ?
प्यास भए त मेटिन्थ्यो होला, आश भए त भेटिन्थ्यो होला
राश भए त चुलिन्थ्यो होला , निराश भए त भुलिन्थ्यो होला !

आगो भए त दन्किथ्यो होला, धागो भए त तन्किन्थ्यो होला
राँगो भए त रन्किन्थ्यो होला, हाँगो भए त हुर्किन्थ्यो होला !

बीमा भए त तिरिन्थ्यो होला, सीमा भए त फिरिन्थ्यो होला
लालिमा भए त रंगिन्थ्यो होला, अजिमा भए त ढोगिन्थ्यो होला !

डोको भए त बोकिन्थ्यो होला, पोको भए त फुकिन्थ्यो होला
भोको भए त मुछिन्थ्यो होला,  रो'को भए त पुछिन्थ्यो होला !

रिबन भए त बाटिन्थ्यो होला,  सजिवन भए त काटिन्थ्यो होला
वन भए त सॉचिन्थ्यो होला, जीवन भए त बाँचिन्थ्यो होला !
यो त खै के खै के ?


तीन

परिश्रम ले तिखारिन्छौ
कसैलाइ घोच्ने नहुनु
धैर्यताले निखारिन्छौ
कसैसंग झुक्ने नहुनु
मुस्कुराउनु हर बाधा, कष्टमा पनि
बाटोमा अनेक बटुवा भेटिन्छन्
कुकुरै सही, सबैलार्इ भुक्ने नहुनु


चार

जीवनमा गुरूहरूले धेरै परीक्षा लिए
परीक्षा त जिन्दगी आफैंले पनि धेरै लियो
फरक...
गुरूहरूले समयमा परीक्षा लिन्थे..
जिन्दगीले समय अगाडि नै…
हो हजुर धेरै अगाडि...


पाँच
मेरो पहिलो रूवाई सायद तिम्रो पहिलो हाँसो थियो
तिम्रो रगत र पानीको डल्लोबाट म श्वास फेर्न तंग्रिदै गर्दा
सायद तिमीले आफ्नो श्वास नै बिर्सिएकि थियौ
मेरो भोक प्यास मेटाउन तिम्रा लाम्टा चुस्दै गर्दा
कहिल्यै मलाई जुको सोचिनौ
बरू बिर्सियौ हौली तिमी आफैं कति भोकी 
कति प्यासी थियौ भनेर
समय अघि बढ्यो, किन रोकिन्थ्यो र कसैको लागि ?
हामी पनि कहॉ रोकियौ र?
तिमी सिगौंरी खेल्दै नियतीसँग
म सिगौंरी खेल्दै तिम्रो नॉगो काख संग
म कत्ति हॉस्थे..अबोध न थिएँ
तिमी कत्ति रून्थ्यौ 
.मेरो हॉसोको धेरै पीर थियो तिमीलाई
कतै कलिलैमा ओइली झर्छन् कि भनेर..
म लड्थे तिमी ऊठाउँथ्यौ
तिमी लडिनौ कहिल्यै 
कि मैले देखिनँ ?
सम्झन्छु पेटमा दौडेका मुसा..
मुसा त छानामा पनि दौडन्थे
तिमी धपाउँथ्यौ दुबैथरी मुसा..
तिमी भित्र त सायद बिरालो नै पालेकी थियौ कि
मैले भेउ नै पाइनँ
तर तिमी त आफैं बघिनी थियौ
बिरालो किन चाहिन्थ्यो?
जसरी ल्यायौ उसरी छोडी गयौ चटक्क
आफ्नो त हिसाब फर्स्यौट गर्यौ
तर मेरो हिसाब, कसलाई बुझाउँ म?
नसम्झेको त तिमीलाई हैन, विर्सेको नै कहिले छ र
किन आजै आउनु पर्याक तिमीलाई
परेली मा साउन भ'र ?
आमाको याद अति आयो आज...


कसैले बन् भनेर बनेको हैन
कसैले बनाईदिएर पनि बनेको हैन
जबरजस्ती कसैले यही देशमा अड्काएर राखेको पनि हैन
मनको सफा छु, थाहा छ आफूलाई
जिब्रो कहिलेकॉहि चिप्लिन्छ, त्यो पनि थाहै छ
लापरबाही गरेर मान्छे मार्ने रहर भए
किन ३५ वर्ष दु:ख गरेर डाक्टर बन्थें?
कर्तब्यनिष्ठ हुँ, रहने छु
गल्ति हुँदैन भन्ने ग्यारेन्टि कसरी दिउँ हजुर?
तर यसलाई लापरबाही भनेर जेल लानुहुन्छ भने
स्वीकार छ मलाई त
मेरो धर्म पालना गर्दा हतकडी लाग्छ भने लागोस्
अरू केही सीप जानेको पनि छैन
अब अर्को सिक्ने रहर पनि छैन
तर आऊनुस् बहश त गरौं
मेरा कुरा पनि सुनिदिनुस् न हजुर...



सात

मन भित्र आगो सल्केको धेरै भयो...
हो दनदनी बली नै रहेको छ...
सोच्छौ होला 'खै त जलेर भष्म भएको' ?
तर तिमीलाई के थाहा ?
यहा मन धरधरी रोएको पनि त छ..
त्यही आँशुले मनको ज्वाला सिंचित गर्छ
र त तिमी देख्छौ
म यति शान्त भएको..
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

अजित गुरुङ लेख्नुहुन्छ कात्तिक २१, २०७५ बुधवार १४:२६:०२
अतिनै मार्मिक, सत्यता तथा मर्मस्पर्शी छ डाक्टर साबका सबै कृतिहरु।यसरी नै आगामी दिनहरु मा पनि पढ्न र सुन्न पाउ। धेरै धेरै बधाई छ हजुर लाई ।
विदुर मणि ढुङ्गाना लेख्नुहुन्छ कात्तिक २०, २०७५ मगलवार १८:२२:१२
अतिनै सुन्दर भावना हरु समेटिएको छ दाइ हजुरको प्रयास सधै निरन्तर अगाडि बढ्दै जाने छ साथ साथै उत्तरउत्तर प्रगतिको कामना।
तिर्थ लाल उपाध्याय लेख्नुहुन्छ कात्तिक १७, २०७५ शनिवार १८:५८:२५
राम्रो अति राम्रो लेखेर नथाक्नु शुभकामना छ डा अनिल
बीर बहादुर मगैया लेख्नुहुन्छ कात्तिक १७, २०७५ शनिवार १२:५०:२०
सहि लाग्यो हजुरको यो साहित्य डा अनिल बराल ज्यू ।

यसमा तपाइको मत




पढ्नै पर्ने