फिचर

यस्तो थियो आत्मबलका पर्याय डा. श्यामबहादुर पाण्डेको जीवनयात्रा


स्वास्थ्यमा सामान्य समस्या आएपछि जीवनदेखि  विरक्तिनेहरु अनगिन्ती भेटिन्छन्। मिर्गौैलामा समस्या आयो भने त ‘सबथोक सकिएको’ ठानेर जीवनदेखि हार मान्नेहरु उत्तिकै छन्। 

तर, डा श्यामबहादुर पाण्डे सानो स्वास्थ्य समस्या आउँदा आकाश नै खसेको आभाष गर्ने आम मानवीय प्रवृत्तिभन्दा माथि थिए। उनी रोगलाई अात्मबलले जितिरहेका पनि थिए। विगत ७ वर्षदेखि मिर्गोलाको समस्या झेलिरहेका उनी बिरामीको उपचार सेवामा पहिलाजस्तै सक्रिय थिए। रोगसँग जुधिरहे पनि ७७ वर्षको उमेरमा उनको आत्मवल दह्रो थियो। 

उनको आत्मबल देख्दा उनलाई केही भएकै छैन जस्तो लाग्थ्यो । उनी उही नियमित दिनचर्यामा उपचार सेवालाई निरन्तरता दिइरहेका हुन्थे। 

आफ्नो उपचार गराउँदै अरुको उपचार गर्दै हाँसिखुशी बाँचिरहेका थिए।

फिजिसियनका रुपमा वयोधा अस्पताल वल्खुमा कार्यरत थिए। उनले उपचार सेवा दिएका बिरामीले सही उपचार मात्रै पाउँदैनन् थिए, उनको व्यथा र त्यसलाई जित्ने आँट सुनेपछि रोगविरुद्ध लड्ने उस्तै साहससमेत बोकेर फर्किन्थे।

रोगले भन्दा त्यसको चिन्ताले बढी रोगी हुने मानवीय स्वभाव हुन्छ। त्यसविरुद्ध उनी ‘आत्मबलको औषधि’ चलाइरहेका थिए। नेपालीहरुको औसत आयुको उमेर उहिल्यै खाइसकेका उनी मिर्गौलामा समस्या आएपछि अरु जस्तै मानसिक रुपमा थलिएनन्। बरु यसलाई जीवनमा आइलाग्ने एउटा समस्याका रुपमा स्वीकार गरे। त्यहीअनुसार आफ्नो जीवनशैली बदले।

बुवा मिर्गौलाको समस्या लिएर बसिरहेको कुन सन्तानले हेर्न सक्लान् र ? डा पाण्डेका सन्तानले पनि मिर्गौला दान दिने इच्छा जाहेर गरेका थिए। तर, उनले अस्वीकार गरिदिए। उनी भन्थे, ‘मैले मेरो जीवन जिइसके। जुन दिनसम्म जिउँछु, खुशीसाथ जिउँछु। अरुलाई दुःख दिन चाहन्नँ।’

उनी हरेक दिन ओपीडीमा ३० जना बिरामी हेर्थे। आफूले भर्ना गरेका बिरामीको हालखबर बुझ्न वार्डमा राउन्ड लिन्थे। ५४ वर्षदेखिको डाक्टरी जीवन त्यत्तिकै किन मर्न दिन्थे र ?  केही दिन अघिसम्म पनि उस्तै सक्रिय रुपमा चलिरहेको थिए।

उनै आत्मबलका पर्याय डा पाण्डेको म‌ंगलबार राती मस्तिषकघातका कारण निधन भएको छ। मिर्गौलाको समस्यालाई त जितिरहेका थिए। तर यसपटक मस्तिष्कघातलाई भने जित्न सकेनन्।

०००

सन् १९६३ मा एमबीबीएस पास गरेको पाण्डे चिकित्सा विज्ञानमा भएका नयाँ विकासक्रमसँग पनि अपडेट हुन्थे। उनी भन्थे 'चिकित्सा विज्ञान निरन्तर प्रगतिउन्मुख छ। त्यसमा ‘अप टु डेट’ भइएन भने कसरी उपचार गर्न सकिन्छ?’

चिकित्सा नै पढ्न अल्छी गर्न नहुने पेशा लाग्थ्यो उनलाई । त्यसैले जहाँ पुग्थे त्यहाँ पढ्ने र जान्ने माहोल बनाउँथे। वयोधामा हरेक हप्ता उपचारमा आएका नयाँ प्रविधि, नयाँ खोज र नयाँ तरिकाबारे छलफल हुन्थ्यो उनकै कार्यकक्षमा । केही कुरा उनी सहकर्मी र कनिष्ठहरुबाट सिक्थे र केही सिकाउँथे।

सामाजिक चेतनाको विकास र प्रविधिको पहुँचले चिकित्सकलाई चुनौती पनि थपिएको बुझेका थिए उनले। नयाँ जमानाका बिरामीलाई ‘ट्याकल’ गर्न पूरानो अनुभव र त्यही समयको अध्ययन काफी नहुने उनको बुझाइ थियो।

‘त्यो समय हामीले जे औषधि लेख्यौं र जे उपचार विधि भन्यौं बिरामी केही नबोली जान्थे। अहिले औषधिपिच्छे यो किन ? के–का लागि ? कसरी काम गर्छ ? सम्मका प्रश्न गर्छन्। तुरुन्तै गुगलमा सर्च गरेर फेरि प्रश्न गर्न आइपुग्छन्,’ उनले अनुभव बाँडेका थिए।

बिरामीले जान्ने चाहका साथ गरेको प्रश्नलाई उनी अन्यथा बुझ्दैन थिए। आफूले सेवन गर्ने औषधि र आफूलाई अपनाइएको उपचारपद्धति थाहा पाउन खोज्नु सर्वसाधारणमा आएको स्वास्थ्य चेतनाका रुपमा लिए।

०००

उनी डाक्टर भने सैनिक बन्ने रहरले भएका रहेछन्। काठमाडौंको डिल्लीबजारमा जन्मे–हुर्केका डा पाण्डेका पिता जितबहादुर पाँडे नेपाली सेनाका अधिकृत थिए। उनलाई बुवाको ‘सैनिक शैली’ मन पथ्र्यो। त्यसैले सानैमा सेना नै बन्ने सोच पलायो । तर, हुर्काइसँगै उनका आँखा कमजोर हुँदै गए। चश्मा लगाउने अवस्था बन्यो ।

जहिल्यै सैनिक बन्न रहर गर्ने उनलाई पिताले एकदिन भनिदिए, ‘अब आर्मी बन्न तिमी कि इञ्जिनियर बन्नुपर्छ कि डाक्टर।’

उनको बालमस्तिष्कले डाक्टर चुन्यो । त्यसपछि स्कुलमा शिक्षक र घरमा आफन्तले ‘भविष्यमा तिमी के बन्ने ?’ भनेर गरेको प्रश्नमा उनको उत्तर ‘डाक्टर’ हुन थाल्यो।  

पढाइको रफ्तार त्यहीअनुसार बढ्यो । पद्मोदयबाट एसएलसी गरेपछि उनले हिन्दू विश्वविद्यालय बनारसबाट आइएस्सी गरे। नेपाल सरकारको छात्रवृत्तिमा लखनउ मेडिकल कलेज पटनामा सन् १९५८ मा एमबीबीएस पढ्न गए। सन् १९६३ मा उनको एमबीबीएस सकियो । फर्केर उनी तत्कालिन शाही नेपाली सेनामै गए।

000

सैनिक बन्न चिकित्सा शिक्षा अध्ययन गरेका थिए उनले। सेनाका मेडिकल अधिकृतका रुपमा उनले सन् १९६३ देखि २०६९ सम्म वीरेन्द्र सैनिक अस्पतालमा काम गरे। सेनाका पूर्वदेखि पश्चिमसम्मका ब्यारेकमा उनी मेडिकल विभागको जिम्मेवारी सम्हालेर पुगे। यसक्रममा दुई ठाउँमा उनी बाहिनीपतिकै जिम्मेवारीमा समेत थिए । 

वीरेन्द्र सैनिक अस्पतालबाट उनलाई सुरुमा दाङस्थित नेपाली सेनाको ३ नम्बर बाहिनीमा पठाइयो। सेनाहरु बिरामी हुँदा उनीहरुको उपचार गर्थे। बाँकी समय त्यत्तिकै बिताउनुपर्ने भयो। उनले त्यो समयको सदुपयोग स्थानीयहरुको स्वास्थ्य जाँच गरेर गर्थे । 

जाँच त आफ्नै मर्जीले गर्थे तर सेनाका लागि पठाइएको सीमित औषधि सर्वसाधारणका लागि प्रयोग गर्न भने अनुमति थिएन। केही दिन ढिलो गरी सेवन गर्दा पनि फरक नपर्ने औषधिका लागि उनी आफैं मगाएर सेवन गर्न सुझाउथे। तर, कहिलेकाहीँ चोटपटक लागेर आउने सर्वसाधारण बिरामीको उपचारमा भने सकस पथ्र्यो ।

एकपल्ट स्थानीय जमीनदारको घरमा काम गर्ने एकजना चौधरीलाई दुवै हात छिया–छिया भएको अवस्थामा उनीकहाँ पुर्‍याइयो। ठूलो ढुंगाले दुईटै हात च्यापेर हड्डी बाहिर निस्किने गरी हातमा चोट लागेको थियो। उनलाई ठूलो धर्मसंकट आइलाग्यो । सेनालाई भनेर दिएको औषधि सर्वसाधारणमा प्रयोग गर्ने अनुमति थिएन। उनलाई न्युनतम रुपमा क्लोफर्म र ब्यान्डेज चाहिन्थ्यो। 

उनले त्यसको व्यवस्था गर्न जमीनदारलाई जिम्मा दिए। यातायातको व्यवस्था नभएको त्यो समय लखनउबाट मगाइएका सामान भोलिपल्टै ल्याइपु¥याएको त्यो क्षण उनलाई अविस्मरणीय लाग्थ्यो।

उनी भन्थे, ‘उनीहरुको घोडामा गएर एक ठाउँबाट अर्को ठाउँसम्म सूचना पुर्‍याउने त्यस्तो द्रूत नेटवर्क थियो। मैले त्यति चाँडै सामान आइपुग्ने अपेक्षा गरेको थिइनँ।’ आफैंले बेड बनाएर जमिनदारकै घरमा ६ हप्ता भर्ना लिएको उनी बताउँथे।

नेपाली सेनाका डाक्टरका रुपमा मात्रै होइन, सैनिककै रुपमा पनि उनले अनुभव सँगालेका थिए। चीनले तिब्बत आफ्नो अधिनमा लिएपछि ‘फ्रि तिब्बत’ को लक्ष्य सहित लडिरहेका खम्पा विद्रोही चीनको सीमानामा पर्ने नेपाली भूभागमा थिए । विद्रोहीले नेपाललाई सेल्टर बनाएको चीनलाई मन परिरहेको थिएन। त्यसैले चीनले उनीहरुलाई आश्रय नदिन तत्कालिन श्री ५ को सरकारलाई आग्रह ग¥यो । सरकारले चीनसँग जोडिएका उत्तरी नाकामा नेपाली सेना सहितको प्रशासकीय टोली खटायो । पूर्व–उत्तरको जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा उनी पनि पुगे। 

नेपाली सेनाका सिपाहीसरह ५८ किलोको भारी, राइफल र पेस्तोल बोकेर ५८ नै दिन पैदल यात्रा गरेका थिए उनले । तर, खम्पा विद्रोहीले नेपाली सेनासँग दुश्मनी मोल्न चाहेनन् । उनी सम्झिन्थे, ‘उनीहरुले हार्दिकतासाथ कुरा गरेर भोलिपल्टै ब्यारेक खाली गरेर हिँडे।  सुई लगाउने हातले राइफलको ट्रिगर दबाउनुपर्ने अवस्था आएन।’

000

विभिन्न ठाउँ पुग्ने क्रममा उनी धरानमा कम्पनी कमान्डर भएर पनि बसे। उक्ते समय गरेको दुईटा उपचार सेवा उनी सदा स्मरण गर्थे। एउटा पेट्रोम्याक्स बालेर धरान अस्पतालमा गरिएको कुहिएको आन्द्राको सर्जरी र अर्को १ सय १५ जनालाई एकैपल्ट दादुरा हुँदा गरेको उपचार। 

धरान अस्पतालमा स्वास्थ्य सेवाबाट डा डीबी कार्की कार्यरत थिए। जटील केस आउँदा नेपाली सेनाकै ब्यारेकमा रहेका डा पाण्डेको सहयोग लिन्थे।

यही क्रममा एकपल्ट आन्द्रा कुहिएर समस्या परेका बिरामी अस्पताल आइपुगे। रिफर गर्नेसमेत ठाउँ नभएको त्यो समय डा कार्कीले उचित सल्लाह र सहयोग लिन डा पाण्डेलाई बोलाए। मिल्ने साथी पनि रहेका उनीहरुले निक्र्यौल गरे– यहीँ प्रयास गर्नुपर्छ। रातको समयमा पेट्रोम्याक्स बालेर कुहिएको आन्द्राको भाग काटे। सर्जरी सफल भयो र बिरामी निको भएर घर फर्के। त्यसरी दिइएको उपचार सेवाले उनलाई जोखिम उठाउन सक्ने बनायो।

त्यहाँ रहँदा डा कार्कीसँगै मिलेर धेरैजनाको स्थायी बन्ध्याकरण सेवा दिएको पनि उनी सम्झन्थे। जुन सेवा नेपालमा भर्खरै सुरु भएको थियो। यसरी उनी सेनाका डाक्टर भए पनि कहिल्यै सैनिकलाई मात्रै उपचार दिने भनेर बसेनन्। फुर्सद भयो कि आर्मी ब्यारेक वरिपरिका जनताको सेवामा उनी खटिइहाल्थे। यही स्वभावले उनमा ब्यारेकमा रहँदा पनि नयाँ उपचार बारे अप टू डेट रहने र थप अध्ययन अनुसन्धान गर्ने बानीको विकास भयो। 

धरानमै रहँदा एकपल्ट उनले दादुराको प्रकोप खेप्नुपर्‍यो। धरानको फुस्रेमा रिक्रुट तालिम चलिरहेको थियो। झन्डै एकसय १५ जनाले तालिम लिइरहेका थिए। उक्त क्याम्पमा एक्कासी दादुरा फैलियो। उनी सम्झिन्थे, ‘सुरुमा बाहिर नफैलियोस् भनेर सबैलाई एउटै पालले घेरेर एकै ठाउँमा राखें। त्यसपछि उनीहरुको उपचार थालियो । साढे दुई महिना उपचार गरेपछि उनीहरु निको भए। त्यसपछि मात्रै उनीहरुलाई बाहिर पठाइयो।’

०००

देशका विभिन्न ठाउँ पुगिसकेका उनले विशेषज्ञता हासिल नगरी उपचार सेवा कठिन रहेको महशुस गरेका थिए। जसरी पनि थप अध्ययन गर्न उनी कस्सिए। नेपाली सेनामा सेवा दिइरहेकाहरुले पनि सरकारी कोटामा एमआरसीपी गर्ने अवसर पाउँथे। यहीअनुसार उनले इन्टरनल मेडिसिन र ट्रपिकल डिजिजमा बेलायतको लिभरपुलबाट एमआरसीपी गरे। पढाइ सकिएपछि उनलाई त्यहीँ बसेर उपचार सेवा दिन मात्र होइन, अमेरिकामा बसेर चिकित्सा पेशा गर्न अफर आएको थियो। भन्थे, ‘विदेश मेरो प्राथमिकतामा थिएन। पढाइ सकिएपछि तुरुन्तै नेपाल फर्केर वीरेन्द्र सैनिक अस्पतालमा सेवा सुरु गरें।’

000

सेनाका चिकित्सकका रुपमा उनले २७ वर्ष काम गरे। तत्कालिन अधिराजकुमार र पछि राजा ज्ञानेन्द्र शाहका चिकित्सकका रुपमा उनले २४ वर्ष काम गरे। तर, शाही चिकित्सकको उपाधिलाई उनी गर्वको विषय बनाउन चाहँदैनन्।

उनी भन्थे, ‘एउटा काम थियो र गरियो। छाडेपछि सकियो।’

उनले लेफ्टिनेन्ट कर्णेलका रुपमा सेनाबाट अवकाश लिएका थिए। सेनामै रहेर काम गर्ने उमेर भएपनि उनलाई सेनामा रहेर सेवा गर्ने रहर पुगिसकेको थियो । 

अवकाश लिएपछि महाराजगञ्जमा आफ्नै क्लिनिक सुरु गरे।

क्लिनिक सुरु गरेको केही समयमै बी एण्ड बी अस्पतालका सञ्चालकले आफ्नो अस्पतालमा काम गरिदिन आग्रह गरेपछि त्यहाँ पुगे। ५ वर्षजति उक्त अस्पतालमा काम गरेपछि उनलाई नर्भिक इन्टरनेशनल अस्पतालले बोलायो।

‘त्यो समय नर्भिक अहिलेको जस्तो नाम चलेको अस्पताल थिएन। मलाई बीएण्डबी काम गर्न पुगिसकेको थियो। नर्भिक आएँ,’ उनले भनेका थिए। आफ्नो फलोअपमा रहेका बिरामी बोलाउँदा सुरुमा नर्भिकको लोकेसन दिनै समस्या परेको उनले सुनाउँथे। नर्भिकबाट उनले ६ वर्ष सेवा गरे।

त्यसपछि साथीहरुको आग्रहमा ४ वर्ष काठमाडौं मेडिकल कलेजमा प्रोफेसरका रुपमा काम गरे। ‘वयोधा खुलेपछि उनलाई अस्पताल सञ्चालक रवि चौधरीले त्यहाँ आइदिन आग्रह गरे । उनी गैर मेडिकल मान्छे भएपनि मेडिकल क्षेत्रलाई बुझेको जस्तो लागेर यतै आएँ,’ केही समयअघि उनले भनेका थिए।

चिकित्सकीय जीवनको उत्तराद्र्धमा वयोधाबाट सेवा दिइरहेका उनी सन्तुष्ट पनि देखिन्थे। भन्थे, ‘अस्पताल सञ्चालन समितिमा असल मान्छेहरु छन्। हामीले भनेका कुरामा नाइँनास्ति गर्दैनन्।’

दुई छोरी, एक छोरामध्ये छोरा स्टीभ पाण्डेले उनकै पथ पछ्याएर डाक्टर बने। स्टीभ बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाअन्तर्गत एब्डोमिनल सर्जरीमा निर्देशकका रुपमा कार्यरत छन्। छोरीहरु संगीता र सम्झनाले अर्कै फिल्डमा करिअर बनाएका छन्।

उनकी जीवनसंगिनी चन्द्रशोभा पाण्डे त्रिभुवन विश्वविद्यालय बोटानी विभागमा प्रोफेसरदेखि विभागीय प्रमुखसम्म भएर हाल रिटायर्ड जीवन जिइरहेकी छिन्। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने