विचार/ब्लग

ज्यान खुसी छ, तिहार त अर्को वर्ष आइहाल्छ नि

 डा उमेशप्रसाद भट्टराई

सबैतिर झिलिमिली होला। घरहरु सजिएका होलान्। घरपरिवारमा रमझम अनि खुसियाली बर्सिएको होला। अनि त्यो घरकी मेरी प्यारी दिदी योपल्ट त भाइ अवश्य आऊला र रमाऊला भनेर पर्खेकी होलिन्!

हुन त जब समाजलाई दु:ख आपत पर्छ। अस्पताल र अस्पताल परिवारले सदैव साथ दिएको हुन्छ। तर जब समाज रमाउँछ, अस्पताल भने सुनसान अनि दु:खमा बसेको हुन्छ! प्रकृतिको नियम नै त्यस्तै भएर हो वा हाम्रो भाग्य नै यस्तो। खैर जे भए पनि बलिराजाले यो पटक चाहिँ बाटो जुराइदेलान् झैँ लागेको छ! 

बुवाले घरमा फोनको घन्टी कुरेका होलान्। आमाले बाटो हेर्दै होलिन्। दिदीले मिठाई अनि परिकार पकाउँदै होलिन्। अनि बैनीले माला बुन्दै होलिन्!

मनमा यस्तैयस्तै कुरा खेल्दै थियो। करिब रातको १२ बज्न लागेको थियो। झ्यालबाट कार्यलय सहयोगीको आवाज आयो, 'डाक्टरसाप बाहिर बिरामीका हुल आएका छन्। चाँडै तल ओर्लिनुपर्‍यो!'

दुई तला माथिबाट जाडोमा हल्का हात माड्दै तल ओर्लिएँ! कोको न होलान् भनेको त पुरानै गाउँ हल्लाउने टोलीका ६-७ दाजुभाइ टन्न पेलेर आएका रहेछन्! परीक्षण गर्दा मुखबाट ठस्स बास्नाबाहेक केही नभेटेपछि 'अलि कम गर्नु होला,आतिनु पर्दैन' भनेर फकाएर घर पठाइदिएँ। जिन्दगी बगेको पानी जस्तै हो बगिरहनछ भन्थे, त्यस्तै भएर होला यो खालको घटना भइरहन्छन् हाम्रो जीवनमा।

सानो छँदा देउसी खेल्न धेरै साथीभाइ, दिदीबहिनी हुन्थे तर राम्रो मादल बाजा हुन्थेन। अहिले मादल जति नि छन् तर पहिलेका साथीभाइ कोही दुबई त कोही युरोप-अमेरिका छन्। दिदीबहिनीहरु नि कोही पूर्व कोही पश्चिम पुगिसके! यस्तैयस्तै कुरा मनमा खेल्दै थिए। कुनबेला निदाएछु पत्तै भएन।

अब तिहार मुखमै आइसकेको थियो। छोराले कुनै सम्पर्क नगरेपछि बिहानै घरबाट बुवाको फोन आयो।

'यो पटक त ड्युटी छैन होला नि?'

बरु एमबिबिएसका प्रश्नहरु सजिलो लाग्थ्यो। यो प्रस्नको उत्तर दिने साहस मसँग भएन।

सकभर प्रयास गर्छु, 'मिलेसम्म आउँछु' भने! धेरै कुरा गर्नै सकिनँ। आमाले चाहिँ बुझिसकेकी थिइन् र हो कि किन फोनमा मेरो जवाफ सुनेर रोइसकिछन् अनि दिदीले बाबाको फोन खोसेर यसपालि चाहिँ पोहोरको जस्तो नहोस् है भनेर रिसाउँदै भनिन्।

'घर छोडी यहाँ त के रमाइलो होला नि दिजु, म मिलाउँछु सकभर' भनेर फोन राखिदिएँ। 

पोहोर साल मात्र होइन, तिहारमा टीका नलाएको ८ वर्ष भइसकेको थियो। यस पटक जुनियर भाइलाइ ड्युटीमा राखेर भए पनि घर जानुपर्छ भन्ने सोच बनाउँदै थिए। भाइ ठ्याक्क भेटियो।

'दाइ योपल्ट घरमा बिहेको कुरा चलाका छन्, फोटो एकदम चित्त बुझ्यो, हेर्नु त हजुरलाई कस्तो लाग्यो? केटि नि हेरेर छिनोफानो गर्नुपर्ने, एक हप्ता बिदा जसरी नि मिलाइदिनुपर्‍यो।'

भर्खरको रहरे केटो अनि त्यो सुशील केटीको तस्बिर हेरिसकेपछि नाइँ भनेर कसरी भन्नु।

आमाले पकाएको सेलरोटी अनि ति मिठामिठा लड्डु खाएको हिजो जस्तो लाग्छ। टोलमा देउसी खेल्न आउने जमातलाई पटाका पट्काएर तर्साएको, अझ कहिलेकाहीँ त आफै देउसी खेल्न जाँदा कम दक्षिणा दिने घरलाई मनमनै गाली गरेको भर्खरै जस्तो लाग्छ। तर समय बितेको पत्तै नहुने हो कि, १५ वर्षपहिलेको कुरा अझै झल्झली छ। 

तिहारको रौनकले गर्दा होला,अस्पतालमा बिरामीहरुको खासै घुइँचो छैन। ओपिडीमा पनि अलि फुर्सद छ। १५ वर्षपहिले लुकीलुकी तास खेल्दा ४० रुपियाँ जितेर फनफन नाच्ने चक्र किनेर आँगनमा घुमाइरहेको थिएँ,पल्लो घरकी ठूलीआमा तर्सेर झन्डै लडेकी थिइन्।

यस्तै कुरा मनमा खेलाउँदै थिएँ। सिस्टरले 'डाक्टरसाप चिया त सेलायो कता हराउनुभाको, सन्चो छैन कि क्या हो?' भनिन्। दिउँसो नास्ता खाने समय भएको पनि थाहै पाएनछु।

दैवको लीला कसले नि टार्न सक्दैन भन्थे, साँचो नै रैछ! यो पटक पनि घर नजाने पक्कापक्की नै भयो!

उपस्थित स्टाफसँग रमाइलो गर्दै योपालि पनि अस्पतालमै तिहार मनाउने निधो गरियो। बुवाआमालाई फोन गरेर भन्ने आँट आएन। दिदीलाई म्यासेज गरेँ, 'यो ज्यान छ र त खुसी छ, ज्यान भए तिहार त अर्को वर्ष नि आइहाल्छ नि। सबैको विचार गर्नु, तिहारको शुभकामना।'

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने