काठमाडौं— आगामी मंसिर महिनाबाट सुरु हुने भनिएको रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ।
पाँच वर्ष मुनिका बालबालिकालाई बढी सताउने यो भाइरस विरुद्धको खोप सरकारले निःशुल्क लगाउने तयारी अगाडि बढाएको थियो।
यसका लागि भारतीय कम्पनी ग्ल्याक्सो स्मिथ क्लाइन फर्मास्युटिकल्स ९जिएसके०सँग सम्झौता पनि भइसकेको थियो।
तर, उक्त कम्पनीले अन्तिम समयमा आएर खोप बनाउन नसक्ने जवाफ पठाएपछि कार्यक्रम सुरु नहुने भएको छ।
कम्पनीले गत महिना अगामी एक वर्षसम्म खोप (भ्याक्सिन) उपलब्ध गराउन नसक्ने पत्र पठाएको थियो। अन्तिम समयमा कम्पनीले यस्तो पत्र पठाएपछि स्वास्थ्य मन्त्रालय अब कसरी अगाडि बढ्ने भन्ने अन्योलमा छ।
पाँच वर्ष मुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारण रोटा भाइरस हो। यसले विशेषगरी जाडो महिनामा बालबालिकालाई झाडापखाला गराउँछ। देशभरका पाँच वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोग विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले सरकारले रोटा भाइरस विरुद्धको खोपलाई पनि कार्यक्रममा थप गरेको थियो। तर, कम्पनीले सम्झौताबाट पछि हटेपछि खोप कार्यक्रम सुरु गर्न चुनौती थपिएको हो।
परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले भारतीय कम्पनीले खोप उपलब्ध गराउन नसक्ने जवाफ पठाएपछि अब एक वर्ष कुर्ने वा अर्को कम्पनीसँग कुरा गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए।
उनले भने, ‘हामीले यसै वर्ष सुरु गर्न अन्य सम्पूर्ण तयारी गरिसकेका थियौँ। तर, अन्तिम समयमा कम्पनीको सो पत्र आएपछि केही समय अझै ढिला हुने भयो। तर, हामी भ्याक्सिन लगाउन भने सुरु गर्छौँ।’
उक्त कम्पनीसँग ‘रोटा रिक्स’ नामक भ्याक्सिनका लागि सम्झौता भएको थियो। सरकारले उक्त खोप ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)को सहयोगमा खरिद गर्न लागेको थियो। यो वर्ष उक्त खोप एक वर्ष मुनिका करिब ६ लाख ३० हजार बालबालिकालाई लगाउने तयारी भएको थियो।
डा गौतमले सबै तयारी गरेर पनि फेरि रोकिनुपरेको भन्दै अर्को कम्पनीसँग कुरा गर्दा बजेट, निरन्तता, त्यसको प्रभावलगायतका विभिन्न कुरा हेर्नुपर्ने भएकाले खोप सल्लाहकार समितिसँगको सल्लाहमा अघि बढ्ने जानकारी दिए।
के हो रोटा भाइरस?
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार रोटा भाइरसको संक्रमण विकसित र अति कम विकसित देशहरुको तथ्यांक हेर्ने हो भने लगभग एकै देखिन्छ। यसले प्रस्ट रुपमा के देखाउँछ भने, रोटा भाइरस सरसफाइले मात्र रोक्न सकिने वा नियन्त्रणमा ल्याउन सकिने रोग होइन।
यो सरुवा रोग हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र द्रूत गतिमा सर्ने गर्छ।
रोटाभाइरस संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ। यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुनेछ। संक्रमित हात, कुनै संक्रमित सामान, बालबालिका भए उनीहरुले खेलाउने खेलौना, संक्रमित पानी र खानेकुरा आदि रोटा भाइरस सर्ने प्रमुख मध्यम हुन्। हाल नेपालमा पनि मन्टेस्वरी (प्रिस्कुल) को चलन बढ्दै गएकाले यस्ता ठाउँमा एकजना बच्चालाई रोटा भाइरस देखिए अरुलाई सर्ने सम्भावना अधिक हुन्छ। विकशित देशमा यस्ता स्थानमा साना बालबालिकाबीच रोटा भाइरस अत्यधिक मात्रामा सर्ने गरेको अनुसन्धानबाट देखिन्छ।
तारन्तार पानीजस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन्। बान्ता हुने कारणले घरमै जीवनजल बनाएर स्वास्थ्यलाभ गर्न गाह्रो हुने भएकाले अधिकांश बालबालिका अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुग्छन्। मैले गरेको एक अनुसन्धानको नतिजाले नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामा ३३ प्रतिशत रोटा भाइरसका कारणले भएको देखिएको थियो। एसियाली मुलुकमा यो झन्डै ५० प्रतिशतसम्म पुग्ने गरेको अनुसन्धानहरुले देखाएका छन्।
रोटा भाइरस यति महत्पूर्ण हुँदाहुँदै पनि यसको नियमित जाँच भने नेपालमा गर्ने गरिँदैन। अझ भनौं यसबारे धेरै मानिस अनभिज्ञ छन् वा भनौं चासो दिएको देखिँदैन।
यसको विशेष औषधि नहुने र पानीजस्तो तारन्तार पातलो दिसासँगै बान्ता पनि हुने भएकाले कडा जलवियोजन हुने सम्भावना बढी हुन्छ। समयमा स्लाइन पानी दिन नसके बच्चाको मृत्यु समेत हुन सक्छ। हाम्रोजस्तो अति विकट भौगोलिक अवस्था भएको देशमा यो जोखिम अरु बढी देखिन्छ, किनभने बिरामीलाई स्वस्थ्य चौकी वा अस्पतालसम्म पुर्याउन गाह्रो हुने र कहिलेकाहीँ आवश्यक पर्दा पुगे पनि पर्याप्त स्लाइन पानीको व्यवस्था नहुँन सक्छ।
रोटा भाइरसको संक्रमणलाई सरसफाइ र सुरक्षित पानी वा खानाले मात्र पनि रोकथाम गर्न नसकिने यथार्तलाई ध्यानमा राखेर हाल विश्वमा रोटा भाइरस विरुद्धको खोप विकास गरिएको छ। यो खोपको अहिले विकशित देशमा प्रयोग सुरु भइसके पनि नेपालमा भने छैन। यसलाई पनि बालखोप कार्यक्रम अन्तर्गत प्रयोगमा ल्याउन सके नेपालमा लाखौं बालबालिकाले बर्सेनि देखिने रोटा भाइरसको कारणले हुने झाडापखालाबाट अस्पताल भर्ना हुनुपर्ने वाध्यताबाट मुक्ति पाउने थिए। यस्तै, झाडापखालाबाट हुने मृत्युदरलाई पनि उल्लेखनीय संख्यामा कम गर्न सकिने थियो।