विचार/ब्लग

'डाक्टरका डाक्टर' को अपमान नगरौं

डा रुना झा

स्वास्थ्यखबर डट कममा कात्तिक २६ गते प्रकाशित 'प्रयोगशाला सेवामा अनैतिक अभ्यास र सरकारी उदासिनता' शिर्षकमा प्रकाशित विचारप्रति मेरो ध्यानाकर्षण भएको छ। यस लेखका केही बुँदाहरु प्याथोलोजिस्टहरुको ज्ञान, सिप र क्षमता अवमूल्यन गर्ने खालका छन्।

अन्य पत्रपत्रिकामा पनि कसैकसैले यस्तै भ्रामक कुरा लेख्ने गरे पनि र त्यसलाई प्याथोलोजिस्टहरुले नजरअन्दाज गर्दै आएका छन्। तर स्वास्थ्यखबर डट कम स्वास्थ्यमा चासो राख्ने नागरिक र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुले समेत पढ्ने गरेकोले प्याथोलोजिस्टहरु सिप र क्षमतामाथि प्रहार गर्ने बुँदाहरुको खण्डन गर्न आवश्यक ठानेको हुँ। 

मेडिकल टेक्नोलोजी पेसालाई म व्यक्तिगत तहमा सम्मान गर्दछु। नेपालमा पक्कै पनि स्वास्थ्य प्रयोगशालाहरुको स्थिति राम्रो छैन। त्यसको एउटा प्रमुख कारण यस विधाको भव्यताको तुलनामा अत्यन्त न्यून संख्यामा प्याथोलोजिस्ट हुनु हो। प्याथोलोजी एउटा ठूलो विधा हो। सर्जरी/मेडिसिन र आधुनिक चिकित्सामा भएका सबै विशेषज्ञताको प्याथोलोजीमा पनि समकक्षी विशेषज्ञता हुन्छन्। जस्तै  (रेनल, गेस्ट्रो न्युरो, नेफ्रो, पेडियाट्रिक, ओर्थो, ओकुलर, हेमाटो आदि इत्यादि) तर प्याथोलोजिस्टको संख्याको कमीले एकै प्याथोलोजिस्टले सबैको भूमिका निर्वाह गर्नु परिरहेको छ।

लेखकले पटकपटक प्याथोलोजिस्टलाई हिस्टोप्याथोलोजिस्ट भनेका छन्। शरीरबाट ठूलोसानो सर्जरी गरी निकालिएको मासु (बायोप्सी) को  परीक्षणलाई हिस्टो प्याथोलोजी भनिन्छ र यसमा अन्यन्त धेरै ज्ञान, मस्तिस्क र विश्लेषण गर्ने क्षमताको आवश्यकता भएकोले प्याथोलोजिस्टले आफ्नो धेरै समय यसमा खर्चिंछन् तर प्याथोलोजिस्टको सीमा यति मात्र नभएर हरेक रोगको लागि हुने हरेक प्रयोगशाला परीक्षण  हो।

आफ्नो सुविधा र इच्छाअनुसार कुनै प्याथोलोजिस्टले आफूले प्राक्टिस गर्ने विधा र दायारा आफैंले तोकेर काम   गर्छन्। इतिहास हेर्ने हो भने मेडिकल टेक्नोलोजी विधाको अविष्कार तुलनात्मक रुपमा कम ज्ञान र सीप चाहिने कार्य गरी प्याथोलोजिस्टलाई सहयोग गर्न र  प्याथोलोजिस्टको समय बचत गर्न मध्यम वर्गको जनशक्ति उत्पादन गर्ने उद्देश्यले भएको हो। यसले कदापि मेडिकल प्रयोगशालामा काम गर्ने चिकित्सकको (प्याथोलोजिस्ट/एमडी बायोकेमिस्ट/एमडी माइक्रो बायोलोजिस्ट) भूमिकालाई विस्थापित गर्न सक्दैन।

पक्कै पनि राम्रो प्रयोगशाला रिपोर्ट र त्यस रिपोर्टको सदुपयोगको लागि टेक्नोलोजी बुझ्न सक्ने, गुणस्तर नियन्त्रणबारे जानकारी राख्ने र उपचार गर्ने चिकित्सकसँग समन्वय गर्ने क्षमता भएको जनशक्ति चाहिन्छ। प्रयोगशालाको रिपोर्ट अंक मात्र नभई रोगसम्बन्धी जानकारी भएको महत्वपूर्ण दस्तावेज हो। जसरि एक्स–रेको रिपोर्ट यथासम्भव रेडियोलोजिस्टको हस्ताक्षरपश्चात जानुपर्छ त्यसरी नै प्रयोगशालाको रिपोर्ट यथासम्भव प्याथोलोजिस्टको हस्ताक्षरपश्चात जानुपर्छ र हस्ताक्षर गर्ने प्याथोलोजिस्टले त्यसको जिम्मेवारी पनि लिनुपर्छ।

मेडिकल प्रयोगशालाको रिपोर्टमा हस्ताक्षर गर्ने व्यक्तिले मेसिनको टेक्नोलोजी मात्रै बुझेर या विभिन्न केमिकलको बीचमा हुने रासायनिक मेलमिलाप मात्र बुझेर या कुनै किटाणुको नाम र गुण मात्र थाहा पाएर पुग्दैन, प्रयोगशालाले दिएको रिपोर्ट बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ भनी जिम्मेवारी लिनेले सो रिपोर्टले बिरामीको उपचारमा गर्नसक्ने असर बुझ्नुपर्छ। विभिन्न रिपोर्टहरुको एकआपसमा र बिरामीको अन्य लक्षणसँग तालमेल मिलाउन सक्नुपर्छ र आवश्यक परे अन्य केकस्तो थप परीक्षण गराउनुपर्ने हो त्यसको लागि सल्लाह दिन सक्नुपर्छ।

यी सब गर्न रोगको विस्तृत जानकारी हुनुपर्छ या थप पढेर बुझ्न सक्नुपर्छ जुन एमबिबिएस नपढी सम्भव छैन।  जस्तै कसैको थाइरोइडको रिपोर्ट एक चोटी गडबड देखिएर  केही दिनपछि सामान्य हुन्छ भने यो बीचमा बिरामीले केकस्तो औषधि पायो, औषधि लिएको छैन भने औषधिबिना नै थाइरोइडको कुनकुन रोग निको हुन सक्छ। त्यस्तो रोगको लक्षण बिरामीलाई थियो कि थिएन। अरु कुनै परीक्षण (जस्तै थाइरोइडमा सानो सुईले घोचेर  गरिने एफएनएसी परीक्षण) ले सो रोगको प्रमाण दिन्छ कि दिंदैन त्यो सबै बुझ्नु पर्छ। नत्र बिरामी अथवा उपचार गर्ने चिकित्सकले प्रश्न गर्दा "मेसिनले त्यही दियो हाम्रो मेसिन ठिक छ " बाहेक केही जवाफ दिन सकिंदैन।

यही सब कारणले काठमाडौँका गुणस्तरीय कहलाउन खोज्ने अधिकतम निजी प्रयोगशालाहरुले पार्टटाइम भए पनि एक या बढी प्याथोलोजिस्ट राखेका छन्। प्याथोलोजिस्टको उपस्थितिले फरक महसुस नगर्ने भएको भए निजीले प्याथोलोजिस्टमा लगानी गर्दैनथे होला।

संसारमै प्याथोलोजीमा एमडी गर्न एमबिबिएस हुनैपर्छ। दुई, तीन, चार वर्षे र एमबिबिएसको दाँजोमा कम सिलेबस भएको कोर्सबाट समान क्षमता हासिल हुने भए कुनै पनि चलाख राष्ट्रले सर्जन, फिजिसियन, स्त्रीरोग आदि  विशेषज्ञ हुनसक्ने जनशक्ति प्याथोलोजीमा बर्बाद गर्दैनथ्यो होला।

लेखकले बडो घुमाउरो तालमा नयाँनयाँ पदनाम प्रयोग गरी मेडिकल अधिकृतलाई मेडिकल टेक्नोलोजीमा स्नातक गरेको र एमडीलाई मेडिकल टेक्नोलोजी (बयोकेमीस्ट्री /माइक्रो बायोलोजी आदि) मा स्नातकोत्तर गरेको बराबर तुल्याउन खोज्नुभएको छ। मेडिकल टेक्नोलोजीलाई म मर्यादित पेसा मान्छु। नेपालको प्रयोगशाला क्षेत्रमा यस पेसाले पुर्‍याएको योगदान ठूलो छ र भविष्यमा पनि रहने छ। तर समयसापेक्ष परिवर्तन सबैले स्वीकार्नु पर्छ।

अहिले नेपालमा २ सय ९ जना जति प्याथोलोजिस्ट छन् र वर्षेनि बीसदेखि पच्चीस जना थपिंदै छन् जसले गर्दा मेडिकल टेक्नोलोजी समूहको पकड प्रयोगशाला क्षेत्रमा कमजोर हुँदै गएको छ। तर यसको कुण्ठा प्याथोलोजिस्टको खुट्टा तानेर निकाल्नु अनुचित हो।

कतिपय राष्ट्रमा मेडिकल टेक्नोलोजी दर्ता हुनुनपर्ने पेसा हो भने दर्ता भएकै राष्ट्रहरुमा पनि (जस्तै फिलिपिन्स) ऐनमै प्याथोलोजिस्ट या अन्य कुनै डाक्टरको निगरानीबिना प्राक्टिस गर्न नसकिने पेसाको रुपमा लिइन्छ। छिमेकी राष्ट्र भारतको सर्वोच्च अदालतले समेत मेडिकल प्रयोगशालाले दिने रिपोर्ट अन्य स्वास्थ्य प्रतिवेदन बराबर नै भएकोले डाक्टरबाहेक अन्यले निकाल्न नमिल्ने प्रावधान गरिसकेको छ।

नेपालमा बायोकेमिस्ट्री /माइक्रो बायोलोजीमा एमडी  पढाइ हुन थालेको केही वर्ष भइसक्यो तथापि यिनको संख्या प्याथोलोजिस्टभन्दा पनि कम छ। यिनको र प्याथोलोजिस्टहरुको संख्या बढ्दै गएपछि विस्तारै प्याथोलोजिस्टहरु बायोकेमिस्ट्री र माइक्रो बायोलोजीबाट टाढा हुँदै जानेछन् वा त्यही प्राक्टिस गर्न खोज्नेले आफ्नो थप क्षमता वृद्धि  गर्ने छन् साथै प्याथोलोजिस्टहरु आफ्नो दायरा कम फराकिलो तर बढी गहिरो गर्दै जानेछन्। जसले प्याथोलोजीका अन्य शाखाहरुको विकास हुँदै जानेछ।

नेपाल सरकारमै  बायोकेमिस्ट्री /माइक्रोबायोलोजीमा एमडी गरेकाहरुको दरबन्दी सिर्जना गराउन म व्यक्तिगत पहलसमेत गर्ने गर्छु तर त्यसो नभएसम्म बायोकेमिस्ट्री /माइक्रो बायोलोजीमा पनि प्याथोलोजिस्टको दखल रही नै रहने छ। मेडिकल टेक्नोलोजीपछि स्नातकोत्तर या पिएचडी गरेका विज्ञहरु आफ्नो पेसामा गर्व गर्दै सुहाउँदो अनुसन्धान कार्य, सर्विलेन्स, प्राज्ञिक गतिविधिमा बढी संलग्न हुनुको सट्टा प्याथोलोजिस्टसँग मुर्मुरिइरहनुले प्रयोगशालाको वातावरण मात्र बिगार्ने काम हुन्छ।

हुन त मेडिकल टेक्नोलोजीपछि स्नातकोत्तर या पिएचडी गरेका विज्ञहरु पनि सीमित संख्या मै छन् तर लेखक नै अध्यक्ष हुँदा स्वास्थ्य व्यवसायी परिषदले मेडिकल टेक्नोलोजी नपढी स्नातक, स्नातकोत्तर, विद्यावारिधि गरेका जनसक्तिलाई नियमकानुनले बाँधी प्रयोगशालामा कुनै पनि काम गर्न बन्देज लगाएको छ। जसले सरुवा रोगको प्रकोप भएको हाम्रोजस्तो देशमा योगदान दिनसक्ने ठूलो जनशक्तिलाई स्वास्थ्य क्षेत्रबाट बाहिर राखेको छ। मलाई जानकारी भएअनुसार यो मुद्दा अहिले अदालतमा विचाराधीन भएकोले टीकाटिप्पणी गर्नु उचित नहोला।

जसले मेसिन चलायो उसको नाममा कागजपत्र निकाल्न थाल्ने हो भने कार्यालयको पत्रहरुमा त्यहाँको कार्यालय प्रमुखको नभई टाइपिस्टको हस्ताक्षर हुनुपर्ने हो। खासगरी त्यो अवस्थामा जब कार्यालय प्रमुखलाई टाइप गर्न आउँदैन। मेसिनको बारेमा बढी जानकारी मेसिन बनाउने कम्पनी र त्यसको प्राविधिकलाई हुन्छ। तिनीहरुले बिरामीको प्रयोगशाला परीक्षणको नतिजा निकाल्न मिल्छ त?

नतिजा निकाल्न मेसिनभन्दा रोग बुझ्नु आवश्यक छ। त्यसैले यथासम्भव प्याथोलोजिस्ट या अन्य प्रयोगशाला चिकित्सकको सेवा उपलब्ध हुनुपर्छ। चिकित्सा प्रणालीमामा प्याथोलोजिस्टको महत्वपूर्ण योगदानका कारण प्याथोलोजिस्टलाई 'डाक्टरको डाक्टर' भन्ने गरिन्छ। केही व्यक्तिहरुको सीमित स्वार्थसिद्धिको लागि  प्याथोलोजिस्टको अपमान नगरौं।

-(डा झा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन्)

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live