मुख्य समाचार

एन्टिबायोटिक प्रयोगमा कहाँ चुकिरहेका छन् बिरामी, औषधि पसले र किसान ?

डिबी खड्का

आफूलाई जान्नेसुन्ने देखाउनु मानवीय प्रवृत्ति भइहाल्यो। कहिलेकाहीँ बिरामी आफैँ पनि चिकित्सक भन्दा जान्नेसुन्ने भइदिन्छन्। बिरामी भएर औषधी प्रयोग गर्न थालेपछि धेरै जनाले मात्रा पूरा नगरी बिचमै छाडिदिन्छन्। उनीहरुलाई लाग्छ, ‘निको भइगो औषधि किन खाने?’ चिकित्सकले कति दिन औषधी खाएपछि ब्याक्टेरिया मर्छन् भनेर हिसाबकिताब गर्छन् र औषधी दिन्छन्। जस्तो, एउटा एन्टिबायोटिक ५ दिन खानु भनेर डाक्टरले लेखिदिन्छन्। बिराम तीन दिनमा ठीक भएको महसुस हुन सक्छ। त्यसपछि दुई दिन थप औषधी खान झन्झट लाग्छ वा साइड इफेक्ट किन थप्नु भनेर अति जान्नेसुन्ने हुन मन लाग्छ र बिरामीले एन्टिबायोटिक खान छोडिदिन्छ।

यो आमप्रवृत्ति हो। यसलाई बदल्नु जरुरी छ। किन औषधि बिचमै छाड्नु हुँदैन भन्ने कुरालाई  ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पाटर्नसिप कार्यक्रमका निर्देशक डा. सुन्दरमणि दीक्षित यसरी बुझाउँछन्, ‘मानौं, हाम्रो शरीरमा एक सयवटा ब्याक्टेरिया छन्। ५ दिन औषधी खाँदा सबै मर्छन् भन्ने लेखाजोखा चिकित्सकको छ। तीन दिन खाँदा ८० वटा मर्छन्। त्यति मरेपछि बिरामीलाई सञ्चो भएको महशुस हुन्छ तर २० ब्याक्टेरिया जिउँदै वा लट्ठिएका हुन्छन्। यसरी हेर्दा ८० वटाको अस्तित्व समाप्त भयो तर २० बाँकी हुन्छन्।’ उनका अनुसार बाँकी २० वटा ब्याक्टेरिया तत्काल केही गर्न नसकी निस्क्रिय बस्छन्। तर, उनीहरुले आफूलाई सिध्याउन पठाइएको हतियार (एन्टिबायोटिक) देखिसकेका हुन्छन्, अर्कोचोटि सोही हतियार प्रयोग हुँदा कसरी जोगिने भनेर आफूलाई तयार गर्छन्।'

उनका अनुसार ब्याक्टेरियामा अचम्मको क्षमता हुन्छ। त्यो हो, अन्य ब्याक्टेरियालाई पनि उक्त हतियारलाई परास्त गर्न आफूले सिकेको कुरा सिकाउने र आफ्ना शाखासन्तानलाई पनि आफूजस्तै बलियो बनाएर जन्माउने। यसरी एकपटक एन्टिबायोटिक खेपेको ब्याक्टेरियाले दोस्रोपल्ट बिरामीले सोही एन्टिबायोटिक प्रयोग गर्यो। भने सुरुमै रोकिदिन्छ। त्यसपछि बिरामीलाई लाग्छ, ‘औषधी त खाएकै छु नि किन निको भइनँ।’ यसरी अन्तिम लाइनसम्मकै एन्टिबायोटिक लिइसकेको बिरामीको शरीरमा रहेका ब्याक्टेरियालाई मार्ने उपाय हुँदैन। जसलाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ। त्यसपछि बिरामीको ज्यान तलमाथि पर्छ।

औषधी पसलले बेच्छन्  कडा एन्टिबायोटिक
विश्व चिकित्सा जगतले एन्टिबायोटिकलाई ब्याक्टेरियाले प्रभावहीन बनाइरहेको कुरालाई गम्भीर रुपमा लिएको छ। अमेरिकामा रहेर संक्रमणजन्य रोगमा सुपरस्पेसियालिटी गरिरहेका डा. प्रभात अधिकारी भन्छन्, ‘विकसित देशमा कतिपय एन्टिबायोटिक सिफारिस गर्नुअघि चिकित्सकले अस्पतालमै रहेको निकायसँग कारण देखाएर अनुमति माग्नुपर्ने हुन्छ। तर, नेपालमा भने औषधी पसलले समेत खुलेआम कडाभन्दा कडा एन्टिबायोटिक बेचिरहेका छन्।’ यो अवस्थामाथि डा. दीक्षितको टीप्पणी छ, ‘बजारमा बदाम र एन्टिबायोटिक किन्नुमा कुनै भिन्नता छैन। दुइटैलाई प्रेस्किप्सन चाहिँदैन। फरक यत्ति हो, बदाम सस्तो छ, एन्टिबायोटिक महँगो।’

एन्टिबायोटिकमाथि औषधी पसलेको लापरबाही यहीँनेर टुंगिँदैन। अाइसियु तथा छातिरोग विशेषज्ञ डा. अर्जुन कार्की बिरामीसँग जति रुपैयाँ छ, औषधी पसलले त्यत्ति रुपैयाँको एन्टिबायोटिक भिडाएर पठाउने गरेको बताउँछन्। उनी उदाहरण प्रस्तुत गर्छन्, ‘बिरामी ७ दिन खाने कुनै एन्टिबायोटिक किन्न फार्मेसी पुग्छ। मानौं, त्यसको मूल्य ६ सय ६५ रुपैयाँ पर्छ। तर, बिरामीले आफूसँग तीन सय रुपैयाँ मात्रै रहेको बताउँछ। औषधी पसलेले तीन सय रुपैयाँकै दिएर पठाउँछ। त्यति औषधि खाइसक्दा, बिरामीलाई सञ्चो भएजस्तो हुन्छ। थप औषधि खान छाड्छ। डोज पूरा नभएकाले अर्को चोटि उक्त बिरामीलाई त्यो एन्टिबायोटिकले छुँदैन।’

कुखुरा र माछामा पनि एन्बिायोटिक
अहिले कुखुरा र माछामा एन्टिबायोटिकको प्रयोग भयावह रुपमा भइरहेको डा. दीक्षितले बताएका छन्। उनी भन्छन्, ‘माछाका भुरा र कुखुराका चल्लाको दानामा एन्टिबायोटिक मिसाउन थालिएको छ। खासगरी कुखुराका चल्लालाई भ्याक्सिन दिनुपर्ने हो तर त्यसको साटो एन्टिबायोटिक दिने प्रचलन बढ्दो छ।’

एन्टिबायोटिक दिएपछि कुखुरा हृष्टपुष्ट हुने, रोग नलाग्ने र राम्रो अन्डा पनि दिने भएकाले यस्तो गर्न थालिएको उनी बताउँछन्। केही समयअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनमा पनि ब्रोइलर कुखुराको मासुमा एन्टिबायोटिको प्रयोग अत्याधिक रहेको भेटिएको थियो। विभागको अध्ययन प्रतिवेदनमा कुखुराको मासुमा टेट्रासाइक्लिन, म्याक्रोलाइड्स, एमाइनोग्लासाइड्स, सल्फोनामाइड, पेनिसिलिन लगायतको मात्रा बढी पाइएको उल्लेख छ। विभागले ७५ वटा नमूना संकलन गरेर ‘एन्टिबायोटिक रेसिड्यु इन चिकेन मिटः ए पोटेन्सियल थ्रेट टु फुड सेफ्टी’ शीर्षकमा अध्ययन गरेको थियो।

नेपालमा अनुगमन प्रणाली कमजोर हुँदा पछिल्लो समय भेटनरी क्षेत्रमा एन्टिबायोटिक खपत हुने दर निकै बढेको डा. दिक्षित बताउँछन्। उनी भन्छन्, ‘कुखुराको ज्यानमै एन्टिबायोटिक पचाएका ब्याक्टेरिया मान्छेको शरीरमा सरेपछि निकै जब्बर भएर निस्किएका छन्।’ कुनै कारणले राम्ररी नपाकेको कुखुराको मासु खाएका कारण त्यो ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेर निम्तिने संकट खतरनाक हुनसक्ने उनी बताउँछन्। यसबाहेक सुंगुर, सागसब्जी र धेरै दूध उत्पादन गर्न गाईभैंसीमा पनि एन्बिायोटिकको प्रयोग बढिरहेको उनले औँल्याएका छन्।

एन्टिबायोटिकको प्रयोगमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही

बलियो बन्दै ब्याक्टेरिया, प्रभावहीन हुँदै एन्टिबायोटिक

बदाम किनबेच गरे जस्तै बजारमा एन्टिबायोटिक

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live