काठमाडौं- नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस ईकाईले आयुर्वेद समूहका विभिन्न पदमा बढुवा सिफारिस भएका चिकित्सकहरुलाई सम्मान गरेको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूह अन्तर्गतको बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट एघारौं तहको परीक्षामा सफल भएका डा. रामाधर यादव, दशौं तहमा आन्तरिक बढुवामार्फत बढुवा भएका डा. शोभाराम सुवेदी, नवौँ तहमा नियुक्त भएका डा. बुद्धिप्रसाद पौडेल, डा. काशी खतिवडा, डा. सुरेश महर्जन तथा आयुर्वेद चिकित्सक आठौँ तहमा नियुक्त डा. सरोज राय, डा. ललिता पाण्डे, डा. सुजता घिमिरे तथा डा. अर्चना शुक्लालाई बधाई तथा सम्मान गरिएको हो।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले आयुर्वेदलाई संघीयतामा खुम्चाउन खोजिएको आरोप लगाउर्दैँ यस विषयमा सबै मिलेर सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।
वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डा. रामाधार यादवले शैक्षिक तथा अनुसन्धानका कार्यहरूलाई अगाडी बढाउन सकिए मात्र आयुर्वेद चिकित्सा सेवा सुदृढ हुनसक्ने धारणा राखे।
प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. शंकर पौडेलले चिकित्सकहरू कार्यक्षेत्रमा जाँदा आफ्नो जुनसुकै राजनीतिक आस्था भएपनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई प्राथमिकतामा राख्न चिकित्सकहरूको ध्यानाकर्षण गराए।