प्रोफाइल

दह्रो मुटु भएका डाक्टर वैद्य

डिबी खड्का

मुटु त साह्रै दह्रो रहेछ !

यति मात्रै सुन्नेले ठान्छन्– मान्छे निकै साहसी रहेछ। 

बलियो वा कमजोर शब्दले सामान्य अर्थमा मुटुको अवस्थालाई दर्शाउँदैनन्।

यी शब्दले त साहस वा त्रासलाई इंगित गर्छन् । त्यसरी इंगित गर्ने हो भने डा अभिनव वैद्यको जत्तिको बलियो मुटु भएका मान्छे बिरलै भेटिन्छन् । अर्थात् डा वैद्य पाइलैपिच्छे जोखिम उठाउन तयार रहन्छन्।

उनको यही स्वभावका कारण देशले मुटु रोग हुनबाट रोक्ने नीति–नियमका लागि आधार (अनुसन्धान) प्राप्त गरेको छ । उनलाई देखेर धेरै युवा चिकित्सकहरु बनिबनाउ बाटोमा होइन, आफैं बाटो बनाएर अघि बढ्न प्रेरित भएका छन्। 

जीवनको बाटो हिँड्ने क्रमका हरेक दोबाटोमा उनले सजिलो र जोखिमयुक्तमध्ये दोस्रो विकल्प रोजेका छन् । त्यही बाटोले उनलाई नसर्ने रोगको नीति निर्माणका लागि देशले सम्झिनैपर्ने एक व्यक्तिको परिचय दिलाएको छ । मुटु रोगमा रहेको मौलिक तथ्यांकको अभावलाई चिर्न कम्मर कसेर लागेका एक अनुसन्धानकर्ता हुन् डा वैद्य। 

बंगलादेशको युएसटिसी मेडिकल कलेजबाट एमबिबिएस गरेका उनलाई खासमा मुटुरोग विशेषज्ञ बन्नु थियो । त्यसैले करियरको सुरुवातमै मुटुरोगमा कहलिएका डाक्टर भारत रावतसँग काम गरे । नर्भिक अस्पतालमा साढे ३ वर्ष काम गर्दा मुटु रोगप्रति उनको चासो बढिसकेको थियो । यही क्रममा ‘नेपालमा पहिलो १०० एनजिओग्राम’ विषयमा भएको अनुसन्धानमा समेत सक्रिय भए। 

सन् २००३ मा बंगलादेशबाटै मुटुरोगमा विशेषज्ञता हासिल गर्ने पक्कापक्की भइसकेको थियो । उनी प्रवेश परीक्षा पास गरेर भर्नाको तयारी गरिरहेका थिए । यही समय बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिएको प्रवेश परीक्षाको नतिजा आयो । धरानमा पढ्ने हो भने उनले कम्युनिटी मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने भयो । उनका मनमा प्रश्नहरुका उफान उठ्न थाले– बंगलादेशमा मुटुरोग विशेषज्ञ पढेर जीवनयापनलाई सहज बनाउने कि कम्युनिटी मेडिसिन छानेर संघर्षको मैदानमा उत्रिने?

मुटु रोगको विषय उठ्यो कि विदेशमा गरिएका अनुसन्धानलाई आधारमा बनाएर नेपालमा यति हाराहारीमा होलान् भन्ने अनुमान गरिन्थ्यो । अहिले पनि धेरै अवस्थामा यसै गरिन्छ । डा वैद्यले अनुसन्धान रोज्नुको मुख्य कारण नै यही हो।

उनले संघर्षको मैदान रोजे । कार्डियोलोजी रोजेर मान्छेको मुटु होइन, कम्युनिटी मेडिसिन पढेर देशकै मुटु जोगाउन सकिने निर्क्यौल निकाले । तीन वर्ष कम्युनिटी मेडिसिन पढ्दा उनको ध्यान भने मुटु रोगका विषयमा नेपाली तथ्यांक जुटाएर कसरी जनचेतना फैलाउने भन्नेमा थियो । उनी सम्झिन्छन्, ‘१५ वर्षअघि मुटु र यसमा हुने रोगका विषयमा निकै कम चेतना थियो । त्यसैले मुटुको उपचार गर्नेभन्दा पनि मुटुको समस्या हुनै नदिने कुरामा जोड दिन म यता लागेको हुँ।’

मुटु रोगको विषय उठ्यो कि विदेशमा गरिएका अनुसन्धानलाई आधारमा बनाएर नेपालमा यति हाराहारीमा होलान् भन्ने अनुमान गरिन्थ्यो । अहिले पनि धेरै अवस्थामा यसै गरिन्छ । डा वैद्यले अनुसन्धान रोज्नुको मुख्य कारण नै यही हो । उनलाई लागिरहन्थ्यो, ‘हावापानी, भेषभूषा, रहनसहन, खानपान मात्रै होइन, जिनका कारण पनि रोगको जोखिम कम र बढी होला नि ! जोखिम बढ्दो वा घट्दो दरमा होला नि!’

यसैले डा वैद्यलाई यतातिर लाग्न उक्साएको हो । उनले धरानमा अध्ययनरत रहँदा त्यहाँको समुदायमा कति प्रतिशतलाई मुटुरोगको समस्या छ भनेर अध्ययन गरेका थिए । सन् २००६ मा डा वैद्यको सक्रियतामा भक्तपुरको दुवाकोटमा क्रोनिक मुटु रोगका विषयमा अध्ययन भयो । दीर्घ जटिल मुटु रोगीको संख्या १८ प्रतिशत देखियो । सन् १९८१ डा मृगेन्द्रराज पाण्डेको सक्रियतामा एउटा अध्ययन त्यही समुदायमा भएको थियो । त्यो समयमा जटिल मुटु रोगीको संख्या ६ प्रतिशत थियो । यसले एकातिर २५ वर्षदेखि अनुसन्धान नहुँदाको मौलिक तथ्यांकको अभाव पूरा ग¥यो भने अर्कातिर तुलनात्मक रुपमा वृद्धि भइरहेको दर्शायो । यसले मुटु रोगको समस्यामा नेपालको अवस्थालाई देखायो। 

कम्युनिटी मेडिसिनमा विशेषज्ञता हासिल गरेपछि उनी काठमाडौं मेडिकल कलेजअन्तर्गत रहेर काम गर्न थाले । विभिन्न अध्ययन–अनुसन्धानमा सक्रिय रहनुका साथै नयाँ पुस्तालाई यसको महत्वका बारेमा जानकारी गराउन थाले । तर, त्यसअघि बढ्ने ठाउँ बनाउन उनलाई मुस्किल पर्‍यो । उनलाई मुटु स्वास्थ्यसँग जोडिएरै थप ज्ञान र सिप हासिल गर्नु थियो । यसका लागि निकै खोजेपछि एकपल्ट बेलायतमा ‘पब्लिक हेल्थ र मुटु’का विषयमा तालिम हुने जानकारी पाए । उनी भन्छन्, ‘जनस्वास्थ्यसँग मुटुलाई प्रत्यक्ष रुपमा जोडेको त्यहाँ आफैंले हेर्न पाएँ । यसले मलाई अघि बढ्ने साहस दिलायो।’

सोही तालिममा सहभागी एक स्विडेनका एक डाक्टरले पछि उनलाई कार्डियोभास्कुलर हेल्थमा पिएचडी गर्ने अवसर जुराइदिए । त्यो समय रिसर्चका लागि उनले स्थापना गरेको ‘हार्दिक प्रोजेक्ट’ निरन्तर सफलताउन्मुख छ । लामो समयदेखि अध्ययन गरिरहेको यो प्रोजेक्टलाई डा नतालियाको सक्रियताले अर्को उचाइमा पुर्‍याएको उनी बताउँछन्।

यस क्षेत्रमा रहेको उनको लगावले नै जनस्वास्थ्यका विषयमा नीति निर्माण गर्दा उनको नाम छुट्दैन । काठमाडौंका मेडिकल कलेजको फ्याकल्टी, प्रोफेसरका रुपमा, विभिन्न अनुसन्धानकर्ताका रिसर्चरका रुपमा, विदेशी अनुसन्धानकर्ताको लोकल सुपरभाइजरका रुपमा उनले निरन्तर भूमिका खेलिरहेका छन्। 

यो क्षेत्रमा आफैंले पथ निर्माण गरेर भए पनि उनले एउटा उचाई हासिल गरेका छन् । त्यसैले उनलाई देखेर यही पथ पछ्याउन चाहनेहरु निरन्तर अघि बढिरहेका छन् । नयाँ पुस्तालाई उनको एउटै सुझाव रहन्छ– ‘कसैजस्तो बन्न नखोज्नू । आफ्नो मार्ग आफैंले तय गर्नू ?’

शरीरभित्रको मुटुले बेला–बेला रोक्न खोजे पनि बोलीचालीको भाषाअनुसार बुझिने– मुटु दह्रो बनाएर अघि बढिरहेका छन् डा अभिनव वैद्य ।

स्वस्थ जीवनयापनका लागि एक हदसम्म शिक्षा वा चेतनाले अर्थ राख्ला तर व्यवहार परिवर्तनको अचुक अस्त्र भने राज्यले लिने नीति रहेको उनको ठम्याइ छ । उनी उदाहरण दिन्छन्, ‘बच्चालाई चुरोट हानिकारक हुन्छ भनेर बुझाउनु पनि सही हो । उसले किन्नै नपाउने नीति अवलम्बन गर्नु योभन्दा प्रभावकारी हुन्छ।’

नीति अवलम्बनको बाटो अनुसन्धानले देखाउँछ । अनुसन्धान गरेर नतिजा बाहिरियो भने त्यसलाई रोक्ने नीति लिन राज्यलाई दबाब पर्छ । यसकारण पनि अनुसन्धानकर्ताहरुको भूमिका अहिलेको जमानामा असाध्यै महत्वपूर्ण रहेको उनी बताउँछन् । उनको उदाहरण छ, ‘अनुसन्धानका क्रममा २५ प्रतिशतमा उच्च रक्तचाप देखियो अब राज्य चुप लागेर बस्न मिल्छ त?’

नीति निर्माणका लागि मौलिक तथ्यांक जरुरी रहेका कारण यसमा अझै जोडतोडका साथ लाग्नुपर्ने उनले देखेका छन् । अहिले विदेशी सहयोगबाट चलिरहेका अनुसन्धानहरुको नेपालमै पनि स्रोत देखेका छन् । उनलाई लाग्छ, ‘अनुसन्धानका लागि पैसाको कमी छैन । तर, त्यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने चाहिँ सोच्नुपर्छ ।’ विभिन्न संस्थाहरुको ‘कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी’ अन्तर्गत रहेको कोषबाट पनि अनुसन्धान गर्न सकिने उनी बताउँछन्।

सम्पूर्ण नेपाली मुटु जोगाउन लागिपरेका बेला उनी आफैं भने मुटुको समस्यासँग जन्मैदेखि जुधिरहेका छन् । मार्फन सिन्ड्रोम नामक जेनेटिक मुटुरोगको समस्या रहेका उनले मुटुको भल्भ र रक्तनली फेर्नु परिसक्यो । यही रोगका कारण उनी १० वर्षको छँदै उनका पिता डा बैनतेयानन्द वैद्यको मृत्यु भयो । सानै उमेरमा डाक्टर बन्ने लक्ष्य लिएका उनलाई उनकी आमाले लक्ष्यबाट विचलित हुन दिइनन्। 

सन् २०११ मा मुटुको भल्भ फेरेका उनले औषधिको असरका कारण अरु स्वास्थ्य समस्या पनि भोग्नुपर्‍यो । तर, कहिल्यै आफू बिरामी रहेको महसुस गरेर कामबाट पछि हटेका छैनन् । त्यसपछि सन् २०१६ मा औषधिकै असरले टिबी भएर रक्तनली पनि फेरे । तर, त्यसलाई पनि सामान्य उपचार प्रक्रियाका रुपमा लिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्। 

सामान्य स्वास्थ्य समस्या पर्दा पनि हरेश खाएर जीवनको ऊर्जावान समय त्यत्तिकै खेर फाल्ने मानवीय स्वभावलाई डा वैद्यले जितेका छन् । उनले आफ्नो जीवनको एउटा हिस्साका रुपमा यसलाई ग्रहण गरेका छन् । प्रतिकुल स्वास्थ्यका बाबजुद पनि निरन्तर नेपालीको स्वास्थ्य जोगाउने नीति–नियम निर्माणमा खटिरहेका छन्, अनुसन्धानका काममा लागिरहेका छन्। 

शरीरभित्रको मुटुले बेला–बेला उनलाई रोक्न खोजे पनि आम बोलीचालीको भाषामा– मुटु दह्रो बनाएर अघि बढिरहेका छन्। 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live