धनुषा– उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन्।
अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसूतिगृहको शिलान्यास गर्दै शुक्रवार उपप्रधानमन्त्री यादवले अस्पताललाई स्तरोन्नति गर्नुपर्ने बताए।।
उनले विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयाससमेत भइरहेको जानकारी दिए। उपप्रधानमन्त्री यादवले भने, “प्रादेशिक स्तरको आयुर्वेद अस्पतालसमेत जनकपुरमै निर्माण गर्न लागिएको छ । जनकपुरको सरसरफाइमा सुधार ल्याउन जनकपुरवासीसँग आग्रह गर्दछु ।”
आठ करोडको लगानीमा निर्माण हुने सय श्ययाको प्रसूतिगृहमा उच्चस्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु रामपरीक्षण यादवले बताए। भवनसहित अन्य उपकरण र सुविधाका लागि अमेरिकी सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको बताइएको छ ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवलकिशोर साह तथा अमेरिकी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । रासस