काठमाडौं– स्वास्थ्य सेवा विभागले मातहतका कार्यालयमा कार्यरत २ हजारभन्दा बढी कर्मचारीको एकैपटक सरुवा गरेको छ।
विभागले शुक्रबार अबेर रातिसम्म सरुवा हुने कर्मचारीको अन्तिम सूचि तयार पारेको हो। विभागका केही कर्मचारीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बसेर अन्तिम सूचि बनाएको बताइएको छ।
तर सरुवा भएका कर्मचारीको सूचि भने विभागले गोप्य राखेको छ। सूचि गोप्य राखेर विभागका केही कर्मचारीले मोबाइल अफ गरेका छन् भने केहीले फोन नलाग्ने बनाएर बसेका छन्।
सरुवा सूचिमा मन्त्री, राज्यमन्त्रीदेखि उच्च तहका कर्मचारी र कर्मचारी संघसंगठनको केही व्यक्ती समावेश गरिएको बताइएको छ। उक्त सूचि सार्वजनिक गर्दा विवाद आउने देखिएपछि गोप्य राखिएको विभागका एक कर्मचारीले जानकारी दिए।
यसका साथै सरकारले निजामति कर्मचारीको एउटै छाता ऐन ल्याउन लागिरहेको समयमा स्वास्थ्यले एकैपटक मनपरी रुपमा कर्मचारी सरुवा गरेकोमा विवाद आउन सक्ने भन्दै सूचि गोप्य राखिएको पनि ती कर्मचारीले जानकारी दिए।
सरुवा भएका कर्मचारीलाई तत्कालै जिल्ला मार्फत नै सरुवाको पत्र पठाउने तयारी भएको बताइएको छ।
विभागले जथाभावी रुपमा सरुवा गर्न लागेको चाल पाएपछि सरकार निकट मानिने स्वास्थ्यकर्मीहरुको संगठनले शुक्रबार नै विशेष सावधानी अपनाउन सुझाव दिएका थिए।
स्वास्थ्यका तीनवटा संगठनले विभागका महानिर्देशकलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै खाली स्थान र आपसी पारस्परिक सरुवाको निर्णय गर्न भनेका थिए।
ज्ञापनपत्र बुझाउनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बा, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका अध्यक्ष क्षेत्रराज कार्की र नेपाल स्वास्थ्य प्राविधिक संघका महासचिव भास्कर आत्रेय छन्।
उनीहरुले बुझाएको ज्ञापनपत्रमा गत भदौ महिनामा मात्रै १६२० जनाको सरुवा भएको र केही दिन भित्रै नै कर्मचारी समायोजन २०७५ जस्तो महत्वपूर्ण ऐन आउने तयारी रहेको अवस्थामा खाली स्थानमा मात्र सरुवा गर्न भनिएको छ।
तर विभागले अहिले गरेको सरुवा उनीहरुको सुझाव विपरित रहेकाले लुकाइएको हो।