काठमाडौं– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले तीन वटा उपसमिति गठन गरेको छ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि उपसमिति र युवा तथा खेलकुद उपसमिति गठन गरेको हो।
शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन तीन वटा छुट्टाछुट्टै उपसमिति गठन गर्नुपरेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए।
समितिले गठन गरेको स्वास्थ्य तथा जनसंख्या उपसमितिमा मनकुमारी जिसी, उमाकान्त चौंधरी, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, रेखा कुमारी र सन्तकुमार थारु रहेका छन्।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मियाँ, चित्रलेखा यादव, नविना लामा, नारायणप्रसाद मरासिनी, अन्जना विशंखे, योगेशकुमार भट्टराई र सुरेसकुमार राई रहेका छन्।
गजेन्द्रबहादुर महत, जीवनराम श्रेष्ठ, दुलारीदेवी खत्वेनी, नमिताकुमारी चौधरी, तीलबहादुर महत, मानबहादुर विश्वकर्मा र हितबहादुर तामाङ युवा तथा खेलकुद उपसमितिमा सदस्य रहेको समितिकी सभापति घर्तीले बताइन्।
बैठकमा समितिका सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउन कार्यसूचीनै तय गरेर उपसमितिलाई जिम्मेवारी दिनुपर्ने आवश्यकता औंल्याएका थिए। समितिका सदस्य गगनकुमार थापाले सरकारको कामलाई प्रभावकारी बनाउन उपसमितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए।
समितिका अर्का सदस्य खगराज अधिकारीले समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए। पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन पनि समितिले प्रभावकारी भूमिका निर्वाह गरेको बताए।