नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ । अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उहाँहरूलाई अभिनन्दन गरिएको हो।
समारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. डिबी कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई अभिनन्दन गरिन् । साथै अस्पतालमा दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई समेत सम्मान गरियो । सम्मान पाउनेमा दुर्गा चित्रकार, कमलादेवी थारु, उषामैयाँ केसी र दिपक प्रसाद आचार्य छन्।
हेमोडायलाइसिस सेवा शुभारम्भ
रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शय्याको हेमोडाइलाइसिस सेवा पनि आजैदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गरिन्।
उक्त सेवाका विशेषताबारे नर्भिकका वरिष्ठ नेफ्रोलोजिष्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिए ।पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि विमोचन गरिएको छ।