कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ।
कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ। गाउँपालिकाको वडा नम्बर १ र २ मा बढी कुष्ठरोगी रहेका छन्। पहिचान गरिएका कुष्ठरोगीमध्ये २ जनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए।
कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झुपडीमा रोगीलाई राखिँदै आएको थियो। उनले भने,‘सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई हाल परिवारसँगै राखेर उपचार गरिँदै आएको छ।’
एनएनएसडब्लुए नामक संस्थाको समन्वयमा एनएलआर नामक संस्थाले कुष्ठरोगबारे जनचेतना जगाउने, उपचारका लागि सहयोग गर्नेलगायतका कार्यमा सहयोग गरिरहेको उनको भनाइ छ। कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्य चौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ। रासस