गर्मी मौषम सुरु भएसंगै सर्पदंशका विरामीको संख्या पनि बढ्न थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय गर्मी सुरु भएसँगै सर्पदंशका बिरामीको चाप पनि बढ्न थालेको अस्पतालले जनाएको छ।
७५ वर्षिय बालकुमारीकी सिद्धिलक्ष्मी श्रेष्ठलाई बिहिवार आफै घरको बारीमा काम गर्दै गर्दा सर्पले टोक्यो । उनका अनुसार उनले बारीमा साग टिप्दै गर्दा बिहिवार ३ बजेति सर्पले टोकेको हो । पहिला सर्पले टोक्दा उनलाई लामखुट्टेले टोक्यो होला भनेर फेरि साग टिप्न थालिन् । फेरि सर्प देब्रे हातको दुई औलामा बेरियो।
त्यसपछि मात्र थाहा भयो उनलाई सर्पले टोकेकोे रहेछ । सानो सर्प भएकाले जसोतसो सर्पलाई औलाबाट भगाउन सफल भइन् र उनी छिमेकीको घरमा ढुङ्गा टाँसेर विष निकाल्न गइन् । ३ बजे सर्पले टोक्यो रातको सात बजेसम्मा उनले ढुङ्गा टासेर बसिन् । पछि ढुङ्गा आफैं खसेर गएपछि उनले त्यो ढुङ्गालाई गाईको नउमालेको दुधमा डुबाइन दूध निलो भयो । उनी विष गयो भन्ने सोचेर उनी घर फर्किन तर विष गएको रहेनछ ।दाहिने हात सुनियर ठ्लो भएपछि घरनजिकको अस्पतालमा छोरीले लगिन्, त्यहाँबाट शुक्रराज ट्रपिकल तथा सरुवारोमा पठाइदिए । शुक्रबारबाट उनी अस्पतालमा भर्ना भएर उपचार गराइहेकी छन्।
सिद्धिलक्ष्मी त एक पात्रमात्र हुन्, उनी जस्तै काठमाडौं आसपासका जिल्लाबाट दिनमा इमर्जन्सीमानै १० देखि १५ जना बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताए।
‘गर्मी बढेसँगै सर्पले टोकेर अस्पताल आउनेको सख्या बढेका छन् अस्पतालमा दैनिक १० देखि १५ जनाको सख्यामा सर्पले टोकेर उपचार गराउन आउँछन्,’ उनले भने । पुनका अनुसार सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु पर्दैन । जसको रगतमा खराबी देखिन्छ, उनीहरुलाई मात्र भर्ना गरिन्छ । भर्ना कम्तीमा ७ दिन देिख १५ दिनसम्म गर्नुपर्छ।
तराइका सर्पले टोक्यो भने छिटो विष छिटो शरीरमा फैलन्छ । किनभने त्यहाँ बढी विषालु सर्प हुन्छन् । समयमै उपचार गराएन भने मृत्यु हुन सक्ने सम्भावना अत्याधिक हुन्छ । तर पहाडमा पाइने सर्प त्यति विषालु नहुने पुनले बताउँछन्।
सर्र्पले टोक्ने क्रम जेठको अन्तिम साताबाट सुरु भएर असार, साउन, भदौसम्म अस्पताल आउने संख्या बढ्ने पुन बताउँछन्।
सर्पले टोकेपछि त्यो ठाउँमा चुस्ने र सर्पलाई मार्ने प्रचलनमा रहेकोमा त्यसो गर्न नहुने डा पुन बताउँछन् । अस्पतालका अनुसार विषेश गरेर भक्तपुर, ठिमी, ललितपुरका गाउँ काभ्रे, सिन्धुपाल्चोक धादिङ, गोर्खा लगायतबाट सर्पले टोकेका धेरै बिरामी उपचार गराउन आउने उनले जानकारी दिए आगामी महिनो झन् बढ्न सक्ने अनुमान अस्पतालको छ।
अस्पतालमा ज्वरो स्क्रब टाइफस, टाइफाइड, झाडा पखालाका बिरामी पनि बढ्न थालेका छन् । गत वर्षका तुलनामा यस वर्ष टाइफाइड भएर अस्पतालमा उपचार गराउन आउनेको सँख्या बढी भएको डा पुनले बताए।