स्वास्थ्य मन्त्रालयले आफू माताहतका कार्यालयमा बिदा स्वीकृत नगराई लामो समयसम्म अनुपस्थित हुने कर्मचारीसहित त्यस्ता कर्मचारीलाई कारवाही नगर्ने कार्यालय प्रमुखलाई समेत कारवाही गर्ने भएको छ।
मन्त्रालयले सोमबार माताहतका विभाग तथा कार्यालयमा ‘विभागीय’ कारवाहीका विषयमा पत्र समेत पठाइसकेको छ। मन्त्रालयका सहसचिव मधु सुदन बुर्लाकोटीद्धारा हस्ताक्षरित उक्त पत्रमा लामो समयसम्म अनुपस्थित हुने कर्मचारीलाई समयमा नै कारवाही प्रक्रिया अगाडि नबढाउने प्रशासन प्रमुख र कार्यालय प्रमुखलाई नै विभागीय कारबाही गरिने उल्लेख छ।
नेपाल स्वास्थ्य सेवाका र निजामती सेवाका कर्मचारी बिदा स्वीकृत नगराई लगातार साठी दिन र नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ऐन अनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटान सक्ने व्यवस्था छ।
मन्त्रालयले सोही व्यवस्था अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन लागेको हो। स्वास्थ्यका कार्यालयमा कार्यरत कर्मचारीहरु बिदा स्वीकृत नगराई लामो समय कार्यालयमा नआउने र मिलेमतोका आधारमा पुन पुरानो मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृतिका लागि निवेदन दिने क्रम बढेपछि स्वास्थ्यले कडा कदम अगाडि बढाएको हो।