काठमाडौं— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सघन उपचार कक्ष (आइसियू) सेवा सुरु भएको छ । अघिल्लो वर्ष नै सेवा सुरु गर्ने तयारी गरिएको भएपनि २४सै घण्टा बिजुली बत्तिको सुविधा नहुुँदा सेवा सुरु हुन सकेको थिएन।
गत असोजबाट जुम्लामा २४सै घण्टा विद्युत् सेवाको सुविधा भएपछि जनशक्ति व्यवस्थापन गरी विहिबारदेखि तीन बेडको आइसियू सेवा सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । मंसिरबाट तीन बेड थप गरी ६ बेडको आइसियू सेवा सञ्चालन गर्ने उनले बताए।
आइसियू सेवाको सुविधा नहुँदा कर्णाली प्रदेशका बिरामीलाई लाखौँ रकम खर्च गरी नेपालगञ्ज र काठमाडौं आउनुपर्ने बाध्यता छ । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पाका बासिन्दालाई जुम्लामा आइसियू सेवा सुरु भएपछि गम्भीर प्रकृतिका बिरामीका लागि सुविधा हुने अपेक्षा गरिएको छ।
प्रतिष्ठानले मंसिरबाट रक्तसञ्चार सेवा र सिटी स्क्यान सेवा पनि सुरु गर्ने तयारी गरेको छ । रजिष्ट्रार काफ्लेले भने, ‘रक्तसञ्चारका लागि सबै सामग्री आइसकेको । जडानको काम भइरहेको छ। सिटी आउने क्रममा छ।’