फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन्।
फोर्ब्सका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७.३ अर्ब डलर बराबरको छ।
दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दुजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन्।
फोर्ब्सले युवा अर्बपतिको सूचि समेत सार्वजिन गरेको छ। जसमा पाँच युवा अर्बपतिको सूचिमा दुई जना स्वास्थ्य क्षेत्रमा व्यापार गर्ने पनि परेका छन्।
को हुन् ती दुई युवा अर्बपति कति छ उनीहरुको सम्पत्ति ?
डा. रञ्जन पई, मणिपाल ग्रुप
डा. रञ्जन पई भारतको चिकित्साक्षेत्रको चिरपरिचित नाम हो। मणिपाल एडुकेशन एण्ड मेडिकल ग्रुपका अध्यक्ष भारतीय अर्बपतिहरूको सूचीमा ८६ औँ स्थानमा रहेका छन्।
फोर्ब्सका अनुसार ४५ वर्षीय रञ्जनको सम्पत्ति एक अर्ब ८६ करोड डलर अर्थात् १३,७०५ करोड भारु बराबरको छ।
मलेशियाको मेलका मणिपाल मेडिकल कलेजको व्यवस्थापक निर्देशकका रूपमा काम थालेका रञ्जनले विस्तारै सफलताको बाटो तय गर्दै गए।
मणिपाल ग्रुपअन्तर्गत छवटा मेडिकल कलेज र १६ वटा अस्पताल सञ्चालनमा छन्।
भारतबाहेक नेपाल, मलेशिया, दुबई र एन्टिगुवामा सो समूहका मेडिकल कलेज छन्।
शमशीर भायलील, भीपीएस हेल्थ केयर
युवा अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका ४१ वर्षीय शमशीर भायलील भीपीएस हेल्थ केयरका सञ्चालक हुन्। उनी फोर्ब्सको सूचीमा ९८ औँ स्थानमा छन्।
फोर्ब्सका अनुसार उनको सम्पत्ति एक अर्ब ५४ करोड डलर अर्थात् ११, ३६९ करोड भारु बराबरको छ।
सन् २००७ मा एउटा अस्पतालबाट व्यवसाय थालेका शमशीरले भारतबाहेक संयुक्त अरब एमिरेट्स र ओमानमा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन्।
केरलामा जन्मिएका शमशीरले संयुक्त अरब एमिरेट्समा एक रेडियोलोजिस्टका रूपमा काम थालेका थिए। एक वर्ष जागिर खाएपछि उनले अस्पताल स्थापना गरे।
हालै केरलाका बाढीपीडितका लागि उनले ५० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए।