रौतहट- जिल्लाको गरुडा नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य सहायक (एचए)हरुले नियमअनुसार स्वास्थ्य चौकीको प्रमुखको जिम्मेवारी आफूले पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
नगरपालिकाकाले शैक्षिक योग्यताको कदर नगरी स्तरबृद्धि भएका कर्मचारीलाई स्वास्थ्य संस्थाका प्रमुख बनाएपछि उनीहरु प्रशासनमा पुगेका हुन्। जिल्ला प्रशासन कार्यालयले एचएहरुको उजुरीपछि नियमानुसार स्वीकृत दरबन्दी संरचना समेतका आधारमा स्वास्थ्य चौकी प्रमुख हुने व्यवस्था कार्यान्वयनमा ल्याउन नगरपालिकालाई पत्र पठाएको छ।
प्रशासनमा एचए राकेश यादव लगायतका ६ जनाले निवेदन दिएका थिए।
स्वास्थ्य चौकीमा एचए र स्तरवृद्धि भएका सिअहेबमध्ये को प्रमुख हुने भन्ने विवाद लामो समयदेखि चल्दै आइरहेको छ। दुवै पक्षले आफू प्रमुख बन्न पाउनुपर्ने भन्दै आन्दोलन समेत गर्दै आइरहेका थिए।
सरकारले अहेबलाई स्तरबृद्धि गर्दै छैठौँ तहमा लगेपछि एचए र सिअहेबबीचको विवाद चर्किएको हो। एचए पाँचौ तहका हुन्छन्। तर शैक्षिक योग्यताका आधारमा सिअहेबभन्दा एचए माथिल्लो तहका हुन्।