धनगढी- आफन्तको उपचारका लागि सेती अञ्चल अस्पताल पुगेकी कञ्चनपुरकी निरञ्जना रानाले सो अस्पतालको फार्मेसीबाट बिरामीका लागि चाहिने सबै औषधि भेट्टाइनन्।
अर्का एक बिरामीको उपचारका लागि अस्पतालमा राति कुरुवा बसेका कैलालीका सन्तोष भट्टले पनि उक्त फार्मेसीबाट चिकित्सकले लेखिदिएको औषधि पाउनसकेनन्। अञ्चल अस्पताल परिसरमै सञ्चालनमा आएको सरकारी फार्मेसीमा चाहिएको औषधि नपाउँदा अन्य थुप्रै बिरामीका आफन्तलाई बाहिरको निजी फार्मेसीमा धाउनुपर्ने बाध्यता छ।
सुलभ मूल्यमा बिरामीलाई औषधि प्रदान गर्न सरकारको सामाजिक सेवा एकाइ कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको फार्मेसीबाट चाहिएको औषधि नपाइने भएपछि बिरामी र तिनका आफन्तले हैरानी खेप्नुपरेको छ। उक्त एकाइले गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, लोपोन्मुख जाति, महिला स्वास्थ्य स्वयंसेविका, कूपोषित बालबालिकालगायत लक्षित वर्गलाई सहुलियत दिने भनेपनि बिरामीले सहुलियत पाउन सकेका छैनन्।
अस्पतालमा उपचारका लागि आउने लक्षित वर्गका बिरामीले सहुलियतको सेवा पाउन निकै कठिनाइ झेल्नुपरेको बताएका छन्। “फार्मेसीबाट सुपथ मूल्यको औषधि पाउने प्रक्रिया लामो र झन्झटिलो रहेछ, कैलाली गोदावरी नगरपालिकाका भक्तराज भट्टले भन्छन्, “सामाजिक सेवा एकाइबाट सिफारिशपत्र बोकेर फार्मेसीमा पुग्नेले चाहिएको औषधि नै पाउँदैनन् ।”
फार्मेसीमा रातिको ड्युटी हुने कर्मचारी नभेटिएको अर्का सेवाग्राही लालबहादुर साउदले गुनासो गर्छन्। “चिकित्सकले लेखिदिएको औषधिमध्ये अधिकांश औषधि फार्मेसीमा पाइँदैन, उनी भन्छन्, “औषधि नपाउने भएपछि सरकारी फार्मेसीको के काम?”
औषधि खरिद गर्नु पहिले सामाजिक सेवा एकाई फाँटबाट सिफारिस बनाउनुपर्छ तर सिफारिशसम्बन्धी कागज बनाउनसमेत सेवाग्राहीले कठिनाइ झेल्नुपरेको छ। फाँटका कर्मचारीले सिफारिश दिनुअघि विभिन्न प्रमाणहरु खोज्ने, र प्रमाण भेटिए पनि बहाना बनाउँदै सिफारिश दिन आनाकानी गर्ने हुँदा समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ।
स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयका दक्ष जनशक्तिमार्फत सेवा दिन अस्पतालमा फार्मेसी सेवा सञ्चालन गर्ने नीति सरकारको हो। अस्पताल परिसरमै फार्मेसी सञ्चालनमा आएपछि बिरामीलाई औषधिका लागि निजी क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य हुने बताइएको थियो तर यो बाध्यता फार्मेसी सञ्चालनपछि पनि हट्न सकेको छैन ।
फार्मेसी सञ्चालनका लागि स्वाथ्य मन्त्रालयले सेती अञ्चल अस्पताललाई रु १५ लाख र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा कार्यक्रम) ले रु १० लाख गरी रु २५ लाख अनुदान उपलब्ध गराएको थियो। सेती अञ्चल अस्पताल विकास समितिले रु २१ लाख थप गरी रु ४६ लाखको लागतमा यो फार्मेसी सञ्चालनमा आएको थियो।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले सरकारी खरिद प्रक्रिया बमोजिम औषधि खरिद गर्नुपर्ने हुँदा समयमै फार्मेसीमा सबै औषधिको व्यवस्थापन हुन नसकेको स्वीकार्छन्। फार्मेसी सेवाका प्रमुख भरत कुँवरले फार्मेसीमा एक हजार २१९ प्रकारका औषधि रहेको जानकारी गराउँदै चिकित्सकले लेखिदिने जति सबै औषधि निःशुल्क पाउनुपर्छ भन्ने अपेक्षा राख्दा औषधि नै नपाउने गुनासो बढ्ने गरेको बताए।
सुदूरपश्चिम प्रदेशको ‘रिफरल' अस्पतालका रूपमा हेर्ने गरिएको सेती अञ्चल अस्पतालको भौतिक संरचना पहिलेको तुलनामा सुधार हुँदै गए पनि उपचार सेवाको गुणस्तरमा भने खासै सुधार हुन नसकेकाले उपचारका लागि आउने बिरामीले बेलाबखत विभिन्न कठिनाइ व्यहोर्नुपरेको छ।
अस्पतालको चारतले भवनको मेडिकल वार्डमा भर्ना भएका बिरामीले उक्त वार्डको शौचालयमा प्राय पानीको अभाब हुने गरेको छ। ‘‘शौच गर्न जाँदा शौचालयमा एक थोपा पानी भेटिँदैन, फोहरले डुङडुङ्ती गन्हाउँछ, एक बिरामीका आफन्त लालबहादुरले भने, “उपचारका लागि जाने बिरामी उल्टै थप बिरामी भएर निस्किनुपरेको जस्तो वातावरण छ ।”
अस्पताल भवनका कतिपय संरचना अपाङ्गमैत्री नहुँदा अशक्त अपाङ्ग बिरामीलाई उनका आफन्तले पिठ्युमा बोकेर मेडिकल वाडमा पु¥याउनुपरेको छ । वृद्ध र अशक्त बिरामीका लागि ह्विलचियरको व्यवस्था नहुँदा शौचालयसम्म पुर्याउन कठिन हुने गरेको आफन्तको भनाइ छ।
यो अस्पताललाई आवश्यक सुविधासहितको प्रदेशिक अस्पताल बनाउने प्रारुप तयार पारिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । चुनावताका विभिन्न राजनीतिक दलका उम्मेदवारले उक्त अस्पताललाई ५०० शय्याको बनाउने योजना सुनाए पनि त्यसको कार्यान्वयनमा अहिलेसम्म चासो देखाइएको छैन।
'उपलब्ध जनशक्तिले भ्याएसम्म सेवा दिन खोजिरहेका छौँ, अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने, 'जनचेतना अभावका कारण फोहर हुनेलगायत समस्या भने हट्नसकेको छैन।'
विसं २०४० मा स्तरोन्नति भएको उक्त अस्पतालमा स्वीकृति प्राप्त र विकास समितिको गरी हाल २३७ शय्या सञ्चालनमा छन्।
अस्पतालमा दरबन्दीअनुसारका दक्ष एवं विशेषज्ञ चिकित्सकलगायतका जनशक्तिको अभावमा पनि खासै सुधार हुनसकेको छैन। अस्पतालमा पछिल्लो पटक सघन उपचार कक्ष, सिकलसेल परीक्षण, डायलाइसिस सेवालगायत सेवासुविधा सञ्चालन गरिए पनि सर्वसाधारणले सहज र सुलभ रूपमा उक्त सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन्। रासस