धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वीटजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले कलेजो परीक्षणका लागि अति आवश्यक पर्ने उपकरण फाइब्रोस्क्यान मेसिन उपलब्ध गराएको छ।
फाइब्रोस्क्यानको सहयोगले वायोप्सी नगरी सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक बिरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण हुनेछ।
पहिले अल्ट्रासाउण्ड गरेर वायोप्सी गरेपछि मात्र कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार हुने गर्दथ्यो। तर अब कलेजोको वास्ताविक अवस्था अर्थात फाब्रोसिस कति छ वा कलेजो कति कडा भएको छ भन्नेबारे एकिनका साथ उपचार हुने भएको छ।
प्रतिष्ठानको ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी डिभिजनका प्रमुख डा विक्रम प्रधानले हेपाटाइटिस बी र सी तथा मदिराका सेवनका कारण कलेजोमा घाऊ, चिल्लो पदार्थ तथा फाइब्रोसिस भएका बिरामीहरुको उपचार पद्धति अत्यन्तै सहज हुन गएको बताए।
जेनेभाबाट आएका डा. लउरेन्ट स्फरले नेपालको महत्वपूर्ण शैक्षिक संस्थासंग सहकार्य गर्न पाउदा अत्यन्त खुशी लागेको बताए।
कलेजो फुटेर रक्तस्राव भएको, एसिड खाएर खुम्चेको अन्ननली तथा मलद्धारको समेत सफल उपचार भइरहेको र विगतमा जोखिमपूर्ण तरिकाले छाती तथा पेटवाट कलेजोको नमुना झिक्ने गरेकोमा अब विना जोखिम घाँटीको नसावाट झिक्न थालिएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए।