काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवकाे जिम्मेवारी सोमबारदेखि केदारबहादुर अधिकारीले सम्हालेका छन्।
गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियाे।
अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा काम गरिसकेका छन्।
सरकारको यो निर्णयसँगै स्वास्थ्यको नेतृत्व पुन: प्रशासन समूहका सचिवले सम्हालेका छन्। स्वास्थ्यमा स्वास्थ्य सेवाकै सचिव हुनुपर्ने माग स्वास्थ्यका कर्मचारीको रहँदै आएको छ।
सरकारले गत असोज २८ मा डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधमा सचिव चौधरीले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।
सरकारले उक्त आदेशको खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गराएको छ। अदालतले यो विषयमा छलफल गर्न सचिव चौधरीलाई अदालतमा बोलाएको छ।
डा चौधरी रहने कार्यकक्ष खोसेर अधिकारीलार्इ दिइएको छ। अधिकारीलार्इ निमित्त सचिव डा सुशीलनाथ प्याकुरेलले स्वागत गरेका छन्।