काठमाडौं– विरोधका कारण रोकिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्ति चाँडै हुने संकेत देखिएको छ। पदाधिकारीमा भागबण्डा मिलेपछि विरोध गरिरहेकाहरुले नियुक्तिको बाटो खोलिदिएका हुन्।
उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले न्याम्स बाहिरबाट उपकुलपति नियुक्त गर्न खोजेको भन्दै न्याम्सका कर्मचारी विरोधमा उत्रिएका थिए। न्याम्समा कार्यरत आफूहरुलाई 'बाइपास' गरेर मन्त्री यादवले उपकुलपति सहितका पदाधिकारी नियुक्त गर्न लागेको उनीहरुको आरोप थियो। बालुवाटार धाइरहेका सत्तापक्षीय डाक्टर र कर्मचारीलाई रजिस्ट्रारलगायतका पदाधिकारीको लोभ देखाउँदै मन्त्री यादवले चुप लगाएका छन्।
न्याम्सबाहिरको व्यक्ति उपकुलपति भए नमान्ने र असहयोग गर्नेबताउने कर्मचारीका नेताहरु‘लाभ र लोभ’ देखाइएपछि अहिले चुप लागेका हुन्।
स्रोतको अनुसार मन्त्री यादवको रोजाइका डा डिएन साहलाई उपकुलपतिका रुपमा स्वीकार्न विरोध गरिरहेकाहरु तयार भइसकेका छन्। उपकुलपतिका लागि डा साहका साथै डा ढुण्डीराज पौडेल र डा अजित रायमाझीलाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरिएको थियो।
मन्त्री यादव डा साहलाई उपकुलपति नियुक्त गर्न लागिपरेको जानकारी पाएपछि सत्तापक्षीय चिकित्सक र न्याम्सका कर्मचारीले त्यसको विरोध गरेका थिए। सत्तापक्षीय चिकित्सकको एक समूहले प्रधानमन्त्री ओलीलाई भेटेर यी तीनैजना न्याम्सको उपकुलपतिका लागि योग्य नरहेको रिपोर्टिङ गरेका थिए। डा साह न्याम्स बाहिरको रहेको र अरु दुईसत्ताधारी पार्टी अनुकूलनरहेको भन्दै उनीहरुले ओलीको कान फुकेका थिए।
त्यसपछि तत्काल उपकुलपति नियुक्ति रोकिएको थियो। न्याम्स उपकुलपतिविहीन भएको चार महिना भइसकेको छ।
तर अहिले रजिस्ट्रारलगायतका पदाधिकारी दिने आश्वासन दिइएपछि डा साहलाई उपकुलपति स्वीकार्न सत्तापक्षीय चिकित्सक र न्याम्सका कर्मचारी राजी भएका हुन्।
विरोधबाट पछि हटेका सत्तापक्षीय चिकित्सकलाई मन्त्री यादवले फेरि चिढ्याएका छन्। रजिस्ट्रारबाहेक अन्य पदाधिकारीमा समानुपातिक प्रतिनिधित्व गराउने भन्दै आफू निकट व्यक्ति नियुक्त गर्ने उनले संकेत दिएपछि ‘सहमति उल्लंघन’ भएको भन्दै सत्तापक्षीय चिकित्सकको समूह स्वास्थ्य मन्त्रालय धाइरहेको छ।
रजिस्ट्रारमा डा शर्मा भर्सेस डा पौडेल
सत्तापक्षीय चिकित्सकहरुमा रजिस्ट्रारका लागि बहुआकांक्षी देखिएका छन्। तीमध्ये डा दीलिप शर्मा र डा सन्तोष पौडेलको लबिङ बलियो छ।
हाल नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार रहेका डा शर्माले न्याम्सको रजिस्ट्रार बन्ने चाहना व्यक्त गरेका छन्। वीर अस्पतालका कलेजो रोग विशेषज्ञसमेत रहेका उनी क्याबिनेट डाक्टर पनि हुन्।
डा शर्मा काउन्सिलमा रहेकाले न्याम्समा डा पौडेललाई अवसर दिनुपर्नेमा सत्तापक्षीय युवा चिकित्सकको समूह लागिपरेको छ। स्वास्थ्य मन्त्रालयमा रहेका सत्तापक्षीय कर्मचारी पनि डा पौडेलको पक्षमा देखिएका छन्।
सत्तापक्षीय एक युवा चिकित्सकले भने, ‘काउन्सिलमा डा शर्माले राम्रै काम गरिरहनुभएको छ। त्यसैले उहाँलाई त्यहीँ काम गर्न दिँदा बेस।’
दुइटा ठूला अस्पतालसँगै विशेषज्ञ तहको अध्ययन/अध्यापन हुने न्याम्सको रजिस्ट्रार बन्ने अवसर डा शर्माले समेत गुमाउन चाहेका छैनन्।
कर्मचारी युनियनको बार्गेनिङ
सुरुमा न्याम्स बाहिरको उपकुलपति नियुक्त गरिए आन्दोलनका साथै कामकारबाहीमा असहयोग गर्ने बताउने कर्मचारीका नेताहरु अहिले बार्गेनिङमा लागेका छन्। आर्थिक र पदको लोभ देखाइएपछि उनीहरु सिफारिस उम्मेदवारबाटै एकलाई उपकुलपति नियुक्त गर्न दबाब दिन थालेका छन्।
कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रस्तावित उम्मेदवारमध्येबाट नै उपकुलपतिको तत्काल नियुक्ति गर्ने व्यवस्था गरियोस्।’ उनीहरुले ५० प्रतिशत पदमा प्रतिष्ठानतर्फ कार्यरत कर्मचारीबाट नियुक्त हुनुपर्ने माग राखेका छन्।