काठमाडौं– आजदेखि तेस्रो नेपाल मेडिकल एक्स्पो सुरु भएको छ।
उद्घाटनको समारोहमा बोल्दै स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले नेपालमा मेडिकल क्षेत्रमा जति विकास भएको छ त्यति गुणस्तर र संख्यामा सुधार हुन नसकेको बताए ।
उनले देशको जनसंख्या अनुसार अस्पतालमा बेड, उपकरण, जनशक्ति अपुग रहेको बताए।
उनले भने, ‘अहिले प्राइभेट तथा सरकारी गरी २५ हजार बेड छन् जुन ३ करोड जनसंख्याको लागि छ।’
उनले स्थानीय तहमा १०९ वटा नयाँ अस्पताल बनाउने लक्ष्य रहेको बताए।
औषधीको गुणस्तर नियन्त्रणका लागि जस्तो व्यवस्था छ, त्यस्तै मेडिकल उपकरणका लागि पनि नियमकारी निकाय हुनुपर्नेमा जोड दिए।
केमसानका अध्यक्ष सुरेश घिमिरेले यस एक्सपोमा अस्पतालहरुले विभिन्न नयाँ प्रविधिका उपकरण छनोट गरी गर्न सक्ने विश्वास लिएको बताए ।
त्यसैगरी नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले यस्ता एक्सपोले आधुनिक चिकित्सा क्षेत्रमा सुधार ल्याउने बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले यस्ता एस्पोले नयाँ प्रविधि तथा उत्पादनको बारेमा जानकारी दिने बताए।
तीन दिन चल्ने एक्सपोमा सर्जिकल र मेडिकल उपकरणका २०० भन्दा बढी स्टल राखिएका छन् भने नेपाल, भारत, पाकिस्तान, इजरायल, चीन आदि देशको सहभागिता रहेको छ।