काठमाडौं– हेल्थ असिस्टेन्ट संघको नेपालको पहिलो केन्द्रिय महाधिवेशन चैतमा हुने भएको छ। संघको शुक्रबार बसेको बैठकले चैत २२ र २३ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। तर, महाधिवेशन कहाँ, कुन स्थानमा गर्ने भन्ने निर्णय भने पछि मात्र तय गर्ने भएको छ।
संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसमितिको बैठकले महाधिवेशनसहित देशका सात वटै प्रदेशमा भेला तथा प्रशिक्षण कार्यक्रम समेत गर्ने निर्णय गरेको छ।
संघले दरवन्दी संरचना, समायोजन अध्यादेश तथा संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकको बारेमा सातवटै प्रदेशमा छलफल तथा सुझाव संकलन गर्ने र उक्त सुझाव सम्बन्धित मन्त्रालय तथा निकायमा बुझाउने निर्णय पनि गरेको छ।
संघले प्रदेश १ मा पुस १३ गते, प्रदेश २ मा पुस ७ गते, प्रदेश ३ मा पुस ६ गते, गण्डकी प्रदेशमा पुस १४ गते, कर्णाली प्रदेशमा पुस १६ र सुदुरपश्चिम प्रदेशमा पुस १७ गते कार्यक्रम गर्ने भएको छ।