काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमडिजीपी (एमडी इन जनरल प्राक्ट्रिस) कार्यक्रम सञ्चालनका लागि सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने जनाएको छ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका उपकूलपतिसहित आएको डेलिगेशन टोलीसँग आज मन्त्रालयमा भेट गर्दै सो कार्यक्रमका लागि आवश्यक सबै सहयोग गर्ने बताएका हुन्।
प्रतिष्ठानका उपकूलपति डा राजेन्द्र वाग्लेले स्वास्थ्यमन्त्रीसँग एमडिजीपी कार्यक्रम सञ्चालन, चुनौती र यसको फाइदाका विषयमा छलफल भएको बताए ।
उनले भने, ‘स्वास्थ्यमन्त्रीसँग सकारात्मक कुरा भयो, उहाँले एमबिबिएस कार्यक्रममा लागि पनि तयारी गर्नुस, मन्त्रालयले आवश्यक सबै सहयोग गर्छ भन्नुभएको छ।’
प्रतिष्ठानले जुम्लामा एमडिजीपी कार्यक्रम सुरु गर्न सबै तयारी सकिसकेको जनाएको छ।
करिब एक महिना अघि नेपाल मेडिकल काउन्सिलको एक टोली प्रारम्भिक निरीक्षणका लागि जुम्ला पुगेको थियो। निरीक्षणपछि काउन्सिलले प्रतिष्ठानलाई विद्यार्थी भर्नाका लागि सिट निर्धारणको निर्णय गर्न बाँकी छ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले एमडिजिपी कार्यक्रम सुरु भएपछि दुर्गममा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बताए।
स्वास्थ्य मन्त्री यादवसँग प्रतिष्ठानका उपकूलपति डा राजेन्द्र वाग्ले, रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष धर्मराज श्रेष्ठ, डीन रेमशबहादुर राना, अस्पताल निर्देशक धर्मराज गोसाईं, स्त्रीरोग र बालरोग विभागका प्राध्यापकहरुलगायतको टोलीले भेट गरेको थियो।
भेटमा कर्णाली प्रदेशमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा, प्रतिष्ठानको बहुवर्षिय योजना र अहिले सञ्चालन भइरहेका कार्यक्रमबारे पनि छलफल भएको थियो।
प्रतिष्ठानले नर्सिङ कार्यक्रम, मिडवाइफ्री कार्यक्रम र ब्याचरल इन पब्लिक हेल्थ (बिपीएच) कार्यक्रम सञ्चालन गरिरहेको छ।
हरेक महिना मुगु र कालिकोटमा पुगी विशेषज्ञसहितको स्वास्थ्य शिविर गरी स्वास्थ्य सेवा पनि दिदैँ आएको छ।