काठमाडौं– स्वास्थ्य सुपरभाइजरहरुले नियुक्ति अनुसारको जिम्मेवारीको व्यवस्था समायोजन हुनुपर्ने लगायतका ३ बुँदे मागसहित स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापनपत्र बुझाएका छन्।
संघीय संरचना अनुसार तीनै तहका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन पारित भई कर्मचारी समायोजन वा कर्मचारी व्यवस्थापन हुन गइरहेको छ।
ज्ञापनपत्रमा सुपरभाइजरहरुले कमर्चारी समायोजन भइरहदा परिवार नियोजन सुपरभाइजर, खोप ससपरभाइजर, क्षयरोग तथा कुष्ठरोग सुपरभाइजर, भेन्क्टर कन्ट्रोल सुपरभाइजर (पाँचौँ, छैँठौ तथा सातौँ तह) पदमा कार्यरत कर्मचारीहरु फाजिल हुन पुगेको बताएका छन्।
उनीहरुले यसरी फाजिल रहँदा लामो समय देखि परिवार नियोजन, महिला स्वास्थ्य स्व्यंसेविका, गाउँघर क्लिनिक, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य, जनसंख्या व्यवस्थापन, खोप कार्यक्रम, क्षयरोग, कुष्ठरोग, औलो तथा कीटजन्यरोग नियन्त्रण कार्यक्रम जस्ता क्षेत्रमा हासिल गरेको अनुभव तथा दक्षता यसै खेर जानसक्ने भन्नेमा ध्यानाकर्षण गराएका छन्।
पछिल्लो स्वीकृत दरबन्दी संरचनामा संशोधन गरी हेल्थ इन्सपेक्सन समूहका नन–क्लिनिकल व्यवस्थापकीय पदहरु व्यवस्थान गर्नुपर्ने,संघीय तहमा स्वास्थ्य सेवामा विभाग, सम्बन्धित महाशाखा तथा केन्द्र प्रदेश तहमा प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र ७७ वटै प्रदेश स्वास्थ्य कार्यालयहरुका विभिन्न विषयगत शाखाहरुमा कम्तीमा १–१ वटा दरबन्दी कायम गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा छन्।
राज्यमन्त्री र सचिवले ज्ञापनपत्रमा उल्लेखित बुँदाहरु जायज भएको र सोहीअनुसार समायोजन प्रक्रिया अगाडी बढिरहेको आश्वासन दिएको स्वास्थय सुपरभाईजहरुले बताएका छन्।