काठमाडौं- संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई अन्याय गरेको भन्दै आन्दोलित एचहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन्। दबाबका लागि काठमाडौं आइपुगेका उनीहरुले बिहीबारका कार्यक्रम सार्वजनिक गर्दै मन्त्रालयले सुनुवाई नगरे सामूहिक राजिनामा दिने तयारी गरेका हुन्।
उनीहरु बिहीबार ९ बजे माइतिघर मण्डलामा जम्मान हुनेछन्। एकघन्टा त्यहाँ प्रदर्शन तथा कोण सभा गरेपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग वार्ताका लागि पहल गर्नेछन्। वार्तामा कुनै प्रगति नभए सामूहिक राजिनामा दिने तयारी गर्नेछन्।
केही दिनदेखि हेल्थ असिस्टेन्ट संघको नेपाल (हान)को अगुवाईमा मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम भइरहेको छ। उनीहरुको आन्दोलनले मन्त्रालय तनावग्रस्त भएपछि प्रहरी परिचालन गरि मन्त्रालयभित्र प्रवेश निषेध गरिएको छ।
एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।
‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाएका थियौँ,’ संघका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गरेका हौँ। यही आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप गरेर हाम्रो आवाज दवाउने कोशिश भएको छ।’