राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ३१ करोडको लागतमा सुविधासम्पन्न नयाँ अस्पताल भवन निर्माणको काम सुरु भएको छ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिवार अस्पताल भवनको सिलन्यास गरेका छन्। सिलन्यास कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, स्वास्थ्य सचिव डा पुष्पा चौधरी लगायत थिए।
स्वास्थ्य मन्त्रालयको कुल ३१ करोड ६ लाख २० हजार १ सय ४७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सुरु भएको हो। भवन निर्माणको ठेक्का काठमाडौंको नक्सालस्थित कन्टेक÷जेयी जेभीले लिएको छ। गत पुष १६ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ असार १५ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ।
तीन तले सुविधासम्पन्न भवनवाट रेडियोलोजी, प्याथोलोजी, मेडिसिन, सर्जरी, गाईनो, आईसियु÷एनआईसियु, डायलाइसिस, इमर्जेन्सि लगायतका सेवा सञ्चालन हुने स्वास्थ्य सचिव चौधरीले जानकारी दिइन्।
यसैगरी, अस्पतालको एनआइसियु सेवाको पनि उद्घाटन गरीएको छ। ५ वेडवाट एनआइसियु सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए। एसनआईसियु सेवाका लागि २ करोडभन्दा वढिका अत्याधुनिक उपकरण जडान गरिएको छ।
यसअघि गत भदौ १ गते मन्त्री यादवले नै अस्पतालमा डायलाइसिस सेवाको पनि उद्घाटन गरेका थिए। तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा उपलब्ध २ करोड २४ लाख मूल्य बराबरका ४ वटा मेसिन मार्फत डायलाइसिस सेवा सञ्चालन भइरहेको छ।
अस्पतालमा २ महिनापछि आइसियु सेवा पनि सञ्चालन गरिने मेसु दासले जानकारी दिए। ‘भवनको समस्या छ, सुरुमा १ वेड मार्फत सेवा सुरु गर्ने योजनामा छौं’ दासले भने– ‘तर, आइसियु सेवा २ महिना भित्रै सुरु हुन्छ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा निरिक्षण
उपप्रधानमन्त्री यादवले सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा निरिक्षण गरेका छन्। स्वास्थ्य सचिव र प्राविधिकको टोली सहित पुगेका यादवले जग्गाको निरिक्षण गरेका हुन्।
राजविराज नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि वडा नं. १० स्थित बिरौल चौकमा ६२ बिघा जग्गा उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को गत सोमबार (२०७५ पुष २३ गते) बसेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ।