काठमाडौं– इलाममा अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलामतर्फ लागेको छ।
प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम तर्फ लागेको प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले जानकारी दिए। उनका अनुसार विशेषज्ञसहितको टोलीमा उनीहरुसँग फिजिसियन, एनेस्थेसिया, ल्याब र २ जना नर्ससमेत छन्।
‘डा केसीको स्वास्थ्यमा आउनसक्ने सबै खतराको तत्कालै उपचार गर्न सक्ने गरी टोली र त्यसका लागि आवश्यक पर्ने उपकरणसहितको सामग्री दिएर इलाममा पठाएको छौं,’ उनले भने, ‘इलाममा उपकरण समेत नभएको जानकारी पाएपछि आकस्मिक अवस्थामा चाहिने सबै उपकरण समेत पठाएका छौं।’
उपकुलपति डा रौनियारका अनुसार डा केसीलाई प्रतिष्ठानबाट गएका टोलीले आइसियूमा दिनसक्ने उपचार सेवा उपलब्ध गराउन सक्ने छन्। उनले प्रतिष्ठानमा पोर्टेबल भेन्टिलेटर नभएकाले पठाउन नसकिएको जानकारी दिए।
‘उहाँका खस्किँदो स्वास्थ्य अवस्थाको जानकारी हामीले पाइसकेका छौं,’ उनले भने, ‘त्यो हिसाबले उहाँलाई भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ। तर, हामीसँग पोर्टेबल भेन्टिलेटर नभएका कारण त्यसको खोजी गरिरहेका छौं।’
उनले डाक्टर केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक उपचारका लागि शय्या समेत तयारी अवस्थामा राखिएको जानकारी दिए। ‘उहाँलाई इलाममा नै उपचार गर्न सम्भव नभए यहाँ ल्याएर उपचार गर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘त्यसका लागि हामीले यहाँ पनि टिमलाई स्ट्यान्डबाई राखेका छौं।’
डा केसी चिकित्सा शिक्षा विधेयक विगतमा भएको सहमति अनुसार आउनु पर्ने लगायतका ६ बुँदे माग राखेर पुस २५ गतेदेखि आमरण अनसनमा छन्।
अनससन बस्नुभन्दा केही समयअघि बिरामी परेर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएका डा केसीको मुटुमा समस्या छ। अनसनमा रहेका डा केसीलाई निमोनिया देखिएको छ भने मुटुको चाल अनियन्त्रित भएको छ।