काठमाडौं - इलाममा अनसनरत डा केसीको स्वास्थ्य थप जटिल बन्दै गइरहेको छ। डा केसीको स्वास्थ्य गम्भीर हुँदै गएपछि उनको उपचारमा संलग्न चिकित्सकले उनलाई तत्कालै आइसियू तथा सिसियूमा सार्न सुझाव दिइरहेका छन्। तर, इलाममा उक्त सुविधा भने छैन।
इलाम अस्पतालले साँझ सार्वजनिक गरेको डा केसीको स्वास्थ्य रिपोर्ट अनुसार उनको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण भने झन् बढ्दै गएको छ। संक्रमण बढेपछि उनलाई सुई मार्फत एन्टिवायोटिक दिइएको छ।
पछिल्लो रिपोर्ट अनुसार डा. केसीको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेसी दुखेको र स्वास फेर्न अप्ठ्यारो हुन थालेको छ।
यस्तै, उनको दायाँ फोक्सोमा निमोनिया भएको, रगतमा चिनीको मात्र कम हुँदै गएको, मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको, रोगसँग लड्ने क्षमता कम हुँदै गएको र शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको अस्पतालले जनाएको छ।
संक्रमण बढ्ने खतरा देखिएपछि डा केसीलाई भेट्न आउने हरुलाई सिमित गरिएको र अनिवार्य रुपमा मास्क, गाउन र क्याप लगाएर मात्र भेट्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
डा केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलाम पुगेका छन्।
प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम तर्फ लागेको प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले जानकारी दिए। उनका अनुसार विशेषज्ञसहितको टोलीमा उनीहरुसँग फिजिसियन, एनेस्थेसिया, ल्याब र २ जना नर्ससमेत छन्।