काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएको सम्झौता बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
केसीसँग भएको सम्झौता र केदारभक्त माथेमा आयोगको प्रतिवेदनको सुझावविपरीत संसदीय समितिले बहुमतका आधारमा विधेयक पारित गरेको उनको भनाइ छ। विधेयक प्रतिनिधिसभाको बैठकबाट पारित गर्नुअगाडि यो विषयलाई प्रतिष्ठाको विषय नबनाउन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरे।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता थापाले संसदीय समितिबाट पारित भएर सदनमा पेस भएको समितिको प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रको सुधार सम्भव नभएको बताए। 'केसीसँग विगतमा भएको सम्झौताका बुँदाहरुलाई विधेयक पारित गर्ने क्रममा समावेश गर्न प्रधानमन्त्री ओलीको एउटा आदेशले सम्भव हुँदैन,' उनले भने।
समितिले बहुमतको आधारमा सत्ताका नजिक रहेका केहि मेडिकल कलेजलाई सम्बन्धन दिने नियतले विधेयक परिमार्जन गर्ने कार्य भएपछि डाक्टर केसीले त्यसको विरोधमा इलाम पुगी १६औं आमरण अनसनमा बसिरहेका छन्।
संसदीय समितिमा सत्तारुढ दलका कतिपय सदस्यहरुले आम जनताको हितका लागि केसीले उठाएका विषय र उनी जतासुकै जाउन तर आफ्नो पार्टी निकट कलेजले अनुमति पाउनुपर्छ भन्ने मान्यताले विधेयक परिमार्जन गरिएको आरोप उनले लगाए।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र डा केसीको अनसन सन्दर्भमा २०७५ माघ ३ गते आयोजित पत्रकार भेटघाटमा थापाले राखेको धारणा-