जुम्ला- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कर्णालीको स्वास्थ्य क्षेत्र सरकारको विशेष प्राथमकितामा रहेको बताएका छन्। उनले कर्णालीको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै स्वास्थ्य अनुसन्धानको केन्द्र बनाउने बताएका हुन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ पब्लिक हेल्थ अन्तर्गत स्नातक तहको जनस्वास्थ्य कार्यक्रम (बिपिएच)को औपचारिक उद्घाटन गर्दै मन्त्री यादवले कर्णालीलाई स्वास्थ्य क्षेत्रको केन्द्र बनाउने तर्फ सरकार लागि परेको बताए। प्रतिष्ठानले बिपिएचमा २० जनाको कोटा पाएको छ।
'कर्णाली स्वास्थ्य उपचारको केन्द्र बन्छ। गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र बनाउनु पर्छ। चिकित्सा क्षेत्रमा ज्ञान प्राप्तिको केन्द्र बन्ने छ,' उनले भने, 'कर्णालीलाई स्वास्थ्य अनुसन्धानको केन्द्र बनाउनु पर्छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकार सधैँ साथ दिन तयार छ। ढुक्क हुनुहोस।'
उनले प्रतिष्ठानमा एमडिजीपी र एमबीबीएस कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण, औजार उपकरण र दक्ष जनशक्ति जुटाउने कार्यमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे।
'कर्णालीलाई पहिलो प्राथमिकतामा राखेर हेर्छौं। क्षमता र शक्तिले भ्याए सम्म साथ दिन्छौँ,' उनले भने, 'एमडिजीपी र एमबीबीएस मात्रै नभइ मास्टर्स स्तरका कार्यक्रम सञ्चालन गर्न र अन्य बिषयमा अध्ययन अध्यापन गर्ने वातावरण पनि बनाउछौँ।'
मन्त्री यादव प्रतिष्ठानका सहकुलपति समेत हुन्। उनले प्रतिष्ठानले समग्र कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेकोमा निकै खुसी लागेको पनि बताए।
'कर्णालीमा पनि अस्पताल चल्छर? कर्णालीको विकासले देश पार लाग्दैन् भन्ने कुरा सुनिन्थ्यो', मन्त्री यादवले भने, 'तर अहिले प्रतिष्ठानको कामले त्यसो भन्नेहरुलाई गलत सावित गरिदिएको छ। प्रतिष्ठानले समग्र कर्णालीको स्वास्थ्यको स्तरमा नै सुधार ल्याइदिएको छ।'