मुसिकोट - रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो ।
शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक बद्री रायमाझीले जानकारी दिए। उनका अनुसार भौगोलिक विकटता र आर्थिक रूपले जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी निःशुल्क सेवा प्रदान गरिएको बताइएको छ।
शिविरमा प्लाष्टिक सर्जरी गर्न सम्भव भएका व्यक्तिको मात्र सफल शल्यक्रिया गरिएको जनाइएको छ। चौरजहारी नगरपालिकाको आर्थिक सहयोग तथा कल्याणकारी अपाङ्ग सेवा सङ्घ सल्यान र स्थानीय सिबिआरको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरको प्राविधिक सहयोग कीर्तिपुर अस्पताल काठमाडौँले गरेको थियो।
शनिबार शिविर समापनमा बोल्दै चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले निःशुल्क प्लाष्टिक सर्जरी शिविरले यस क्षेत्रका नागरिकलाई सहयोग पुगेको बताए। रासस