हुम्ला - जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ। रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए।
गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका–२ का अध्यक्ष विशे महताराले बताए। 'बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन नगरेकाले औषधिको अभाव भएको छ', स्वास्थ्य प्रमुख बमले भने।
स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ। स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताए। स्वास्थ्यचौकीमा औषधी नहुँदा गाउँपालिका–२ का स्थानीयवासी प्रत्यक्ष मारमा परेका छन्। रासस