काठमाडौं– प्रशासन समूहका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको निर्णय सरकारले फिर्ता नलिने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा स्वास्थ्यमा प्रशासन समूहकै सचिवले निरन्तरता पाउने बताएका हुन्।
‘सचिव सरुवको निर्णय फिर्ता हुँदैन,’ उनले भने, ‘यो विषयमा सरकारले जे सहज हुन्छ त्यही गर्छ।’ उनले यसअघिका सचिवको काम हेरेर नै नयाँ निर्णय गरिएको पनि बतए।
अघिल्लो साता बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो। उक्त निर्णय अनुसार अधिकारी मन्त्रालयमा हाजिर भइसकेका छन्।
स्वास्थ्य सेवा ऐन विपरित स्वास्थ्यमा प्रशासन समूहको सचिव ल्याएको भन्दै नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ र गैरसकारी चिकित्सक संघले विरोध गरिरहेका छन्। उनीहरुले उक्त निर्णय सच्याउन माग गरेका छन्।