काठमाडाैँ- नेपाल चिकित्सक संघले १६ औं पटक अनसन बसिरहेका डा गाेविन्द केसीकाे जीवन रक्षाका निम्ति विशेष पहल गर्न सरकारलाई आग्रह गरेकाे छ।
संघले अनसनमा बस्दा डा केसीकाे शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्नेतर्फ सचेत गराउँदै आमरण अनसनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्नसमेत सरकार समक्ष माग राखेकाे छ।
आज विज्ञप्ति प्रकाशित गर्दै संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकहरुको सहज पहुँचका लागि डा केसीले थालेको कदम उचित भएको भन्दै उनीसँग गरिएकाे सम्झौता कार्यान्वयन गर्नुको सट्टा डा केसीलाई नै चिढ्याउने गतिविधिहरु गरिररहेको बताएकाे छ।
विज्ञप्तिको पूर्णपाठ
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.सँग नेपाल सरकारले १५ औं पटक सम्झौता गरीसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सरकारले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकहरुको सहज पहुँचका लागि डा. के.सी. ले उजागर गर्नु भएको कदम उचित भएको भन्दै उहाँसँग १५ औं पटक सम्म सम्झौता गर्ने अनी त्यसको कार्यान्वयन गर्नुको सट्टा डा. के.सी.लाई नै चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारको गरिमा र प्रतिष्ठामाथी नै आँच पुग्ने गरेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।
डा. के.सी. १६ औं पटक अनसनमा बस्दा उहाँको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने तर्फ सचेत रहँदै नेपाल सरकराले डा. के.सी.को जीवन रक्षाका निम्ती विशेष पहल गर्न र यो आमरण अनसनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।
डा. लोचन कार्की
महासचिव