काठमाडौं – संघीय संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई विभेद गरिएको भन्दै देशभरका एचएहरु आन्दोलित भएका छन्। उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केन्द्रित आन्दोल तगर्दै आइरहेका छन्।
आइतबार एचएहरु मन्त्रालय प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ। झडपमा दुई जना एचए घाइते भएका छन् भने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
एचएहरुले स्वास्थ्यका कर्मचारीलाई मन्त्रालय छिर्न रोकेको भन्दै नारा लगाउँदै मन्त्रालय तर्फ अगाडि बढ्दा प्रहरीले रोकेको हो। माइतिघरबाट स्वास्थ्य मन्त्रालय तर्फ अगाडि बढेपछि प्रहरीले उनीहरुलाई रोक्ने क्रममा झडप भएको हो।
झडपमा एक जना एचएको हातमा गम्भिर चोट लागेको छ भने अन्य दुई जना घाइते भएको एचएहरुको संस्था हेल्थ असिस्टेन्ट संघ, नेपालका सचिव दीर्घ बोगटीले जानकारी दिए।
उनका अनुसार प्रहरीले १० जनालाई पक्राउ गरेर प्रदर्शनीमार्गमा रहेको प्रहरी क्लवमा राखेको छ। प्रहरीसँगको झडपमा सर्लाही अध्यक्ष अन्जम यादवको हात फ्याक्चर भएको छ। एचए सुदन पाण्डे पनि घाइते भएका छन्।
प्रहरीले संघका उपाध्यक्षद्धय मेघराज चापागाईँ, प्रकाश परियार, कोषाध्यक्ष कमल राउत सहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनिल कुमार यादव, गिरिश त्रामु, राजेश ज्ञवाली, दिवान श्रेष्ठ, उमेश चन्द्र घिमिरे, सुनिलकुमार साह र हंशराज ढडुलियाल रहेका छन्।