काठमाडौं— त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जमा निर्माणधीन सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन अलपत्र परेको छ।
भवन निर्माणको म्याद थपका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगेको फाइल ९ महिनादेखि थन्किएपछि निर्माण कार्य अलपत्र परेको हो।
शिक्षण अस्पतालमा क्यान्सर पीडितलाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न, क्यान्सरकै शैक्षिक कार्यक्रम र विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले सो भवन निर्माण गर्न लागिएको हो।
आठ तले उक्त भवन १ सय २० शैय्याको बनाउने योजना छ रहे पनि समय थप गर्न पुगेको फाइल नै त्रिभुवन विश्वविद्यालयमा अलपत्र परेपछि निर्माण कार्य ठप्प छ।
शिक्षण अस्पतालका नीति योजना शाखा प्रमुख दीपक तिवारीले त्रिविमा म्याद थप स्वीकृतिका लागि प्रस्ताव गएको तर हालसम्म कुनै निर्णय नआएको बताए। उनले भने, ‘फाइल महिनौंदेखि रोकिएको छ, उताबाट फाइल स्वीकृत भएर नआई निर्माण कार्य अघि बढाउन सकिँदैन।’
त्रिभुवन विश्वविद्यालयका कानुन शाखा प्रमुख नारायण खनालले म्याद थपका लागि आएको फाइलमा आवश्यक प्रमाण नपुगेकोले पुनः माग गरिएको बताए।
उनले भने, ‘फाइलमा आवश्यक सबै प्रमाण नपुगेकोले फाइल पुनः मगायौं। हामीले प्रमाणसहित मगाएको फाइल पुस १८ गते आएको छ, त्यो फाइल अध्ययन गर्दैछौं।’
उनले फाइलमा पाँच करोड ७० लाखको को–भेरिएसन देखाइएको र त्यो आवश्यक हो÷होइन भन्ने कुरा प्रष्ट नभई निर्णय दिन नमिल्ने बताए।
उनले थप फाइल अध्ययन गरी भेरिएसनबारे प्रष्ट भएर दुई÷तीन दिनमा निर्णय पठाउने बताए।
आर्थिक वर्ष २०६५/०६६ को बजेट भाषणमा सुरेश वाग्ले क्यान्सर केन्द्र भवन निर्माण गरिने घोषणा गरिएको थियो।
४९ करोड रुपैयाँको लगानीमा निर्माण गरिने सो भवन २०६९ मंसीर ६ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शिलान्यास गरेका थिए। भवन तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
तर, निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण अन्यौलमा परेको हो। गौरा–एटलास जेभी कम्पनीले भवन निर्माणको जिम्मा पाएको छ।
समयमा नै काम नसकेको कम्पनीलाई कारबाही गर्नुपर्नेमा पटक पटक म्याद थप्ने काम मात्र भएको छ।
हालसम्म तीन पटकसम्म म्याद थप भइसक्दा पनि भवनको करिब ७० प्रतिशत मात्र काम भएको छ। तर, लागत भने झन्डै ५६ करोड रुपैयाँ भइसकेको छ ।
अस्पतालले निर्माणकर्ताको अनुरोधमा भवन विभागको सिफारिसमा ०७५ जेठ २० गतेसम्म चौथो पटक म्याद थप गर्न त्रिविलाई अनुरोध गरेको हो।
यसअघि पहिलो पटक ०७२, ०७३ मा दोस्रो पटक र ०७४ मा तेस्रो पटक म्याद थप भएको थियो।
२०७२ को विनासकारी भूकम्प, नाकाबन्दी कारणले निर्माण कार्यमा ढिलाई भएको अस्पतालको भनाइ छ।
अस्पतालले आयोजनाको नाममा निकासा भएको बजेट तत्कालीन समयमा अन्यत्र प्रयोग भएको, २०७२ को महाभूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिला भएको दावी गरेको छ।
भूकम्पपछि भूकम्पप्रतिरोधी नयाँ प्रविधि थ्रिडी प्यानेलिङका लागि पहल गरिएको भए पनि त्रिवि केन्द्रीय कार्यालयले आठ महिनापछि विना निर्णय फाइल फिर्ता पठाएको थियो।
त्रिविले निर्णय नदिएपछि पछि पुनः इँटाकै गारो लगाउन निर्देशन दिएको थियो।